बागलुङमा प्रहरीद्धारा गाँजा फडानी

-- बागलुङ / प्रकाशित मिति : शनिबार, साउन २६, २०७५

जिल्ला प्रहरी कार्यालय बागलुङले दुर्गम गाउँहरुमा गरिएको गाँजा खेति नष्ट गर्न थालेको छ ।
लागुऔषध खेति नियन्त्रण अभियान अन्तरगत जिल्लाको ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाका बिभिन्न स्थानमा लगाइएको गाँजा खति नष्ट गर्न थालिएको हो ।
अभियानको पहिलो दिन ताराखोला गाउँपालिकाको वडा नम्बर ५ नागी, बडिगाड गाउँपालिकाको भिमगिठे र निसीखोला गाउँपालिकाको भल्कोट क्षेत्रमा लगाइएको गाँजा खेति नष्ट गरिएको प्रहरीले जनाएको छ । यस क्षेत्रबाट सयौ हेक्टर क्षेत्रफलमा गाँजा खेति गरि ठुलो मात्रामा लागु औषध उत्पादन तथा निकासी हुने गरेको प्रहरी दावी छ ।
स्थानीय बासिन्दाले भने भाँगोको रुपमा आयआर्जनको मुख्य स्रोतको रुपमा उत्पादन, प्रयोग तथा बिक्री गर्दै आएको बताएका छन् । ‘चटनीका रुपमा प्रयोग गरिने भाँगो खेति हाम्रो आम्दानी र जिविकापार्जनको आधार हो,’ स्थानीय भिमकला रोकाले भनिन्, ‘बरु कसैले नियतवस चरेश बनाए कारवाहीको दायरामा ल्याउन पहल गर्नुपर्छ, यो गरिबमारा प्रवृत्ति हो, यस्तो कार्य गर्दा सरकारले राम्ररी हेर्न सक्नुपर्छ ।’ फरक स्वादको चटनी बनाइने भाँगो बागलुङको ब्राण्ड बन्न सक्ने भएकाले यसको दुरुपयोग रोक्न सकेमा धेरै फाइदा लिने तर्फ स्थानीय र केन्द्र सरकारले सोच्नुपर्ने मनोज थापाले बताए । ‘सरकारी निकायको यो कदम पूर्ण रुपमा गलत छ, घरायसी कामका लागि हसिया, खुकुुरीको आविष्कार भएको हो’, उनले थपे, ‘यदी कसैले सोही हतियारको प्रयोग मानव हत्यामा गर्छ भने के भोली देखी हतियार उत्पादन नै बन्द गर्ने ?

प्रहरीले भने भाँगोको रुपमा लगाइएको बाली नभई लागु औषध उत्पादन तथा बेचबिखन गर्ने प्रयोजनका लागि लगाइएको गाँजा खेति मात्र नष्ट गर्न थालिएको बताएको छ । ‘हामीले स्थानीय जनप्रतिनिधिसँग प्रयाप्त छलफल र समन्वय गरेर नै अभियान थालेका हौ,’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक रेग्मीले भने, ‘जुन क्षेत्रमा गाँजा खेति गरेर लागु औषध उत्पादन, ओसार पोसार हुने गरेको प्रारम्भिक सूचना अध्ययनको आधारमा स्थान छनोट गरेर गाँजा नष्ट गर्न शुरु गरिएको हो ।’ यो अभियान अबको तिन दिन सम्म जिल्लाका बिभिन्न स्थानमा जारी रहने एसपी रेग्मीले बताए । ‘बारीमा घरायसी प्रयोजनका लागि लगाइएको अवस्थामा हामीले फडानी गरेका छैनौ,’ उनले थपे, ‘ यो गाँजा खेति नष्ट गर्ने अभियान स्थानीय सचेतनाका लागि हो । यसलाई सबैले आत्मसाथ र सहयोग गर्न जरुरी छ ।’ विगतको तुलनामा गाँजा खेति गर्ने क्रम घटेको पाइएकाले माथिल्लो भेगहरुमा हुने गाँजा खेति रोक्न सके लागु औषध नियन्त्रणमा ठुलो उपलब्धि हासिल हुने एपपी रेग्मीले बताए ।
तस्विरः जिल्लाको ताराखोला नागीमा गाँजा नष्ट गर्दै प्रहरी ।