बागलुङमा आत्महत्याको बढ्दो क्रम

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

विगत तीन आर्थिक वर्षको तथ्याङ्कले बागलुङमा आत्महत्या चिन्ताजनक समस्याका रुपमा विकास भएको पाइएको छ ।
तीन आर्थिक वर्षमा वर्षेनी ३० भन्दा बढी मानिसले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् भने केहीले विषसेवन गरेर आत्महत्या गरेको पाइएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा ३२ ले आत्महत्या गरेका थिए भने आव २०७५÷७६ मा ४२ ले आत्महत्या गरेका थिए । चालु आर्थिक वर्षको दुई महिनामा ६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रहरीको तथ्याङ्गक अनुसार आत्महत्या गर्नेमा पुरुषको संख्या बढी छ । प्रहरी नायव उपरीक्षक भट्टराईका अनुसार तीन वर्षको अवधिमा ३७ जना पुरुष, ३३ जना महिला र १० जना बालबालिकाले आत्महत्या गरेका छन् ।
अधिकांसले झुण्डिएर र विष सेवकको माध्यमबाट आत्महत्या गरेको प्रहरी तथ्याङ्गकमा उल्लेख छ । पारिवारीक तनाव, प्रेम सम्बन्धमा खटपट तथा मानसिक असन्तुलकको कारणले आत्महत्या गर्ने बृद्धि भएको बताइएको छ ।
वैदेशिक रोजगारीका कारण सिर्जित समस्या आत्महत्याको प्रमुख कारण रहेको प्रहरीको ठम्याइ छ । श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीमा गएपछि शारीरिक आवश्यकता र एक्लोपनाका कारण कयौँले आत्महत्याको बाटो रोज्ने गरेका छन् ।
यस्तै विवाहेत्तर सम्बन्धका कारण पनि आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एसपी) नवराज भट्टको भनाई छ । यौनजन्य क्रियाकलापलाई सामान्य मान्ने तर त्यसबाट सिर्जित चुनौती सामना गर्न नसक्दा केहीले मृत्युको बाटो रोज्ने गरेका प्रहरीको अनुसन्धानले देखाएको छ ।
सामाजिक सञ्जाल तथा इन्टरनेटको अत्यधिक प्रयोग, बेरोजगारी, तीव्र महत्वाकाङ्क्क्षा, एक्लोपना लगायतका कारणले समेत आत्महत्याका घटना वृद्धि भएको पाइएको छ ।
यी कारणले मानिसमा ‘डिप्रेसन’को समस्या निम्तने र आत्महत्याको बाटो रोज्ने गरेको प्रहरी अनुसन्धानमा खुल्ने गरेको छ ।