सामुदायिक विद्यालय जोगाउँदै आमा समूह

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

म्याग्दीको ग्रामिण क्षेत्रमा वर्षेनी विद्यार्थी घटेपछि गाउँका सामुदायिक विद्यालय संकटमा परेका छन । गाउँका आमा समूह सामुदायिकलाई जोगाउन लागिपरेका छन ।
गाउँमा सेवा सुविधा पुग्न नसकेपछि बसाइँ सर्ने क्रमसँग दिनानुदिन विद्यार्थी घट्दा सामुदायिकमा समस्या थपिएको हो । गाउँका विद्यार्थीलाई सामुदायिकमा पढाउन समुदायले विभिन्न स्रोत परिचालन गर्न थालेका छन ।
वैदेशिक रोजगारीबाट फर्केका लाहुरे वा गाउँ घुम्न आएका पर्यटकलाई आमा समूहले मादल बजाउँदै नाचगान र फूलमालाले स्वागत सत्कारपछि पाएको ‘टिप्स’ रकमले विद्यालयका शिक्षकलाई तलब खुवाउने गरेका छन । औंसी पूर्णिमामा माइतीले टीका लगाएर दिएको दक्षिणा पनि आमा समूहको कोष हुँदै तिनै विद्यालयमा खर्च हुने गरेको छ ।
‘दरबन्दीविहीन छौं शिक्षकको तलबभत्ता वार्षिक १० लाख रुपैयाँ जोहो गर्नु समुदायलाई सजाय दिएजस्तै भएको छ,’ धौलागिरि गाउँपालिका–३ मुदीस्थित बुद्धि विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक जगबहादुर किसानले भन्नुभयो, ‘शिक्षक–अभिभावकको ध्यान पढाइको गुणस्तर सुधारभन्दा तलब भत्ताको जोहो गर्नमै बित्छ ।
स्रोतबाट सञ्चालित जिल्लाका ४८ माध्यमिक तहका सामुदायिक विद्यालय दरबन्दी विहीन छन । राजनैतिक हस्तक्षेप र पहुँचका आधारमा असन्तुलित शिक्षक दरबन्दी वितरण हुँदा दुर्गम भेगका सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन ।
विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी दिने सरकारी नीतिअनुसार दरबन्दीविहीन विद्यालय सञ्चालन गर्न समुदायलाई हम्मे परेको छ । विद्यालय चलाउन चन्दाबाट आजित अभिभावक गाउँ छोड्न थालेका छन।
‘विद्यार्थी थोरै छन, निजी स्रोतबाट शिक्षक पाल्नु पर्दा समुदाय हैरान भएका छन् र विषयगत शिक्षकको अभावले गुणस्तरीय पढाइसमेत भएको छैन तर पनि गाभ्न मिल्दैन,’ अन्नपूर्ण गाउँपालिका–७ स्थित आदर्श माविका प्रधानाध्यापक कुमार पुनले भन्नुभयो, माध्यमिक तहमा जम्मा १४–१५ विद्यार्थी छन।
गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षक व्यवस्था गर्न समुदायलाई समस्या भएको छ तर सबैभन्दा नजिकको छिमेकी विद्यालय पुग्न ४ घण्टा लाग्ने भएकाले गाभ्न पनि नसकिएको बताइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका अनुसार बसाइँसराइ तीव्र भएपछि ग्रामीण भेगका विद्यालयमा विद्यार्थी संख्या बर्से्नि घट्दो छ। तथ्यांक अनुसार प्रावि तहमा एक शिक्षक बराबर १७, निमाविमा ३३, माविमा २५ र उच्च मावि तहमा ६५ विद्यार्थी अनुपात छ ।