तीन दिवसीय कार्यक्रम सहित संविधान दिवस मनाइने

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

बागलुङमा तीन दिवसीय कार्यक्रम गरि संविधान दिवस मनाइने भएको छ ।
मंगलबार जिल्ला समन्व्य समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षतामा बसेको सरोकारवाला बीचको बैठकले तीन दिवसीय कार्यक्रम गरि संविधान दिवस मनाउने निर्णय गरेको हो ।
नेपालको संविधान २०७२ जारी गरिएको अवसरमा असोज २, ३ र ४ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
दिवसको अवसरमा स्कुल तथा कलेजमा संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डा लगायतका राष्ट्र भक्तिको विषयमा कविता, वक्तृत्वकला, निवन्ध र हाँजिर जवाफ प्रतियोगिता संचालन गरिने निर्णय गरेको छ । त्यसको लागि शिक्षा विकास तथा समन्वय ईकाइ बागलुङलाई समन्वय गर्ने जिम्मा दिईएको छ ।
दिवसमा सरकारी कार्यालय, गैर सरकारी कार्यालय, सार्वजनिक संस्था तथा नागरिकहरुले आ–आफ्ना कार्यालय, घर परिसर सरसफाई गर्ने, राष्ट्रिय झण्डा फहराउने तथा तीनै दिन दिपावली गर्ने निर्णय गरेको छ ।
‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोउल्लासका साथ मनाऔं र घर घरमा राष्ट्रिय झण्डा फहराऔं भन्ने जस्ता नाराहरु सवै नागरिकसम्म एस.एम.एस.मार्फत पुराउने व्यवस्था मिलाउन नेपाल टेलिकम बागलुङलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
साथै सोही नाराहरुको जानकारी स्थानीय संचार माध्यमबाट प्रचार प्रसारको समन्वय गर्न पत्रकार महासंघ बागलुङ र माईकिङ गरि प्रचार प्रसारको व्यवस्था मिलाउन बागलुङ नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
दिवसमा सवै सरकारी, गैर सरकारी तथा निजि संघ संस्थाहरुले कपडा र कागजको झण्डा आफैले तयार गरि वितरण गर्ने र सोको अभिलेख जिल्ला समन्वय समितिमा पठाउन आग्रह गरिएको छ ।
गृह मन्त्रालयबाट तोकिएको आकार र रंगमा झण्डा रंगको पोषाक, टिसर्ट, चंगा र यस्तै प्रकारका अन्य रचनात्मक कार्य गरि वितरणको व्यवस्था मिलाउन बागलुङ उद्योग वाणिज्य संघलाई जिम्मा दिईएको छ ।
दिवसको अवसमा प्रभातफेरी सहित ब्याण्ड बाजा, पञ्चे बाजा, झण्डोत्तल, सलामी, भजन किर्तन गरिने बताईएको छ । संविधान दिवसकै दिनदेखि फिल्म हलमा फिल्म शुरु हुनु भन्दा अघि राष्ट्रिय गान बजाउन निर्देशन दिने निर्णय गरेको छ ।