मुस्ताङको लोमान्थाङमा गाडीसँगै उक्लियो लामखुट्टे

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६

मुस्ताङको लोमान्थाङमा लामखुट्टे देखापर्न थालेका छन् । समुन्द्री सतहदेखि ३८ सय मिटर उचाईमा रहेको चिसो उपत्याकामा पनि लामखुट्टे देखिन थालेको हो ।
अघिल्ला वर्षहरुमा लोमान्थाङमा लामखुट्टे देखिन्नथे। यो वर्षबाट यहाँ लामखुट्टे देखिन थालेको स्थानीय पेमा याङ्दु गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोटर आएसँगै लोमान्थाङमा लामखुट्टे देखिन थालेका छन् । ‘गर्मी भूभागमा पाइने लामखुट्टे चिसोमा कसरी पुगे र कसरी बाँच्न सके ?’, मुस्ताङ घुम्न पुगेका मिथुन गुरुङको जिज्ञासाको छ ।
मुस्ताङको सदरमुकाम जोमसोममा २०५३ सालमा पहिलो पटक लामखुट्टे देखिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङस्थित रेन्जर पोस्टमा काम गरिसकेका राजु आचार्यलाई सम्झना छ ।
अहिले जोमसोममा लामखुट्टे देखिनु सामान्य भएको छ । तर, लोमान्थाङमा नै लामखुट्टे देखिएको कुरा आफुलाई जानकारी नभएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका कार्यालय प्रमुख तुलसी प्रसाद दाहालले बताउनुभयो ।
पछिल्लो सममा सवारी साधन बेनी, पोखरा हुँदै एकैदिनमा मुस्ताङ पुग्छन् । गाडीको सिटमुनी रहेका लामखुट्टे सोझै लोमान्थाङसम्म पुगेको हुन सक्ने कार्यालय प्रमुख दाहालको अनुमान छ । हिमालपारीको जिल्ला मुस्ताङ स्याडोरेन जोनको रुपमा चिनिन्छ । तर, पछिल्ला वर्षहरुमा बढी पानी पर्न थालेको स्थानीयले बताउँदै आएका छन् ।
वर्षा बढेकै कारण पछिल्लो समय मुस्ताङका घरहरुमा भएको माटोको ढलानबाट पानी चुहिन थालेको छ । यहीकारण जिल्लावासीले सिमेन्टको ढलान गर्न थालेको एक्याप लोमान्थाङ इलाका संरक्षण कार्यालयका सुचना अधिकृत रामबहादुर गुरुङले बताउनुभयो ।
लामखुट्टे लोमान्थाङसम्म पुग्नुको कारण सडक सञ्जाल रहेको प्राध्यापक करण बहादुर शाहले बताउनुभयो । सवारी साधनमा राखेर बोरामा लगिने खाद्यन्न, लगायतका सामानसँगै लामखुट्टे त्यहाँ पुगेको उहाँको अनुमान छ ।