बागलुङ जेसिजद्धारा धौलागिरी एफएमका स्टेशन म्यानेजर शिरीष सम्मानित

-- / प्रकाशित मिति : शनिबार, साउन २६, २०७५

बागलुङ जेसिजले हरेक बर्ष चाडको रुपमा मनाउने जेसिज सप्ताह शनिवारदेखी शुरु भएको छ ।
जेसिज सप्ताह फरक फरक क्षेत्रमा संर्घषशिल रहेका बागलुङका दुई युवालाई सम्मान गर्दै शुभारम्भ गरिएको छ । सप्ताहको बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले उद्घाटन गर्नुभयो । उद्घाटन पछि लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर आफ्नो छुट्टै पहिचान बनाएका नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष र स्वास्थ्य क्षेत्रमा कम उमेरमै उल्लेख्य प्रगति गर्न सफल बानपा ३ का प्रनिता राजभण्डारीलाई सम्मान गरिएको थियो ।
पत्रकार शिरीषले धौलागिरीको आञ्चलिक पत्रकारिता, पत्रकार महासंघको संस्थागत विकासमा खेलेको भुमिका र राजभण्डारीले निरन्तरको अध्ययन र मेहनतबाट शिक्षामा उत्कृष्टता हासिल गर्दै जिल्लाको पहिचानलाई थप गर्विलो बनाउन खेलेको भुमिकाको कदर गर्दै सम्मान गरिएको बागलुङ जेसिजका अध्यक्ष अम्बिका बस्नेतले बताउनुभयो ।
२०६४ सालदेखी व्यवसायिक पत्रकारिता शुरु गरेका शिरीष हाल धौलागिरी एफएमको स्टेशन म्यानेजरका साथै अन्नपूर्णपोस्ट राष्ट्रिय दैनिक, एपि वान टेलिभिजन लगायतका मिडियामा आवद्ध हुनुहुन्छ । पत्रकार महासंघको भवन निर्माण, सामाजिक गतिविधि, परोपकारी कार्यमा समेत अग्रसर रहदै आउनुभएका शिरीषको राजीनामा दिएको जिन्दगी (कविता संग्रह) समेत प्रकाशित छ ।
पत्रकार शिरीष यसअघि बागलुङ समाज युएईले प्रदान गर्ने बेस्ट जोर्नालिज्म अवार्ड २०६९, जिल्ला विकास समिति बागलुङद्धारा सरसफाई तथा बातावरण पत्रकारिता पुरस्कार २०७०,
(स्मृति प्रकाशन, बागलुङद्धारा स्मृति युवा सम्मान—२०६७, कालिका भगवति गुठीले प्रदान गर्ने कालिका पत्रकारिता पुरस्कार २०७३ बाट सम्मानित तथा पुरस्कृत भईसक्नुभएको छ ।

उद्घाटन तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जेसिसले गरेको चुस्त कार्यक्रम आयोजना, व्यवस्थापन, सिर्जनशिलता र यसको सन्देशको व्यापकता उदाहरणी भएको बताउनुभयो ।
कार्यक्रममा बागलुङ जेसिजका संस्थापक श्याम श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारी, म्याग्दी जेसिजका अध्यक्ष कमलकुमार बिश्वकर्मा, प्रगतिकुमार स्मृति कोषका प्रधान संरक्षक कृष्णबहादुर श्रेष्ठ, रोटरी क्लब अफ बागलुङका निवर्तमान अध्यक्ष पूर्णबहादुर केसी, रोट्रयाक्ट क्लब अफ बागलुङका निवर्तमान अध्यक्ष नविन पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जेसिज सप्ताहका मूल संयोजक बलबहादुर थापाले कार्यक्रमको उद्धेश्य माथि प्रकाश र तारा शर्माले सम्मानित युवाको व्यक्तित्वका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रम बागलुङ जेसिजका अध्यक्ष लालकुमारी बस्नेत (अम्बिका)को अध्यक्षता, निवर्तमान शाखा अध्यक्ष जोहन बज्राचार्यको स्वागत मन्तव्य र सह—सचिव सौगात खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
शनिबारदेखि सुरु भएको जेसीज सप्ताह भदौ १ गतेसम्म बिबिध कार्यक्रमका साथ सञ्चालन हुने जेसीज सप्ताह मूल समारोह समितिका संयोजक बलबहादुर थापाले बताउनुभयो । जेसीज सप्ताहको दोस्रो दिन भोली साउन २७ गते स्वागत बोर्ड व्यवस्थापन, जेसीज गाउँ भकुण्डेमा पर्यटन सम्बन्धि अन्तरक्रिया कार्यक्रम, तेस्रो दिन साउन २८ गते स्लो बाइक रेस प्रतियोगिता, चौथो दिन साउन २९ गते युवा अन्तरक्रिया कार्यक्रम, पाचौँ दिन साउन ३० गते अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, छैठौँ दिन साउन ३१ गते प्रशिक्षण कार्यक्रम र कार्यक्रमको अन्तिम दिन भदौ १ गते स्वर्गीय प्रगति कुमार श्रेष्ठ स्मृति अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा समापन कार्यक्रम हुने जेसीज बागलुङले जनाएको छ । समाजमा रहेका युवाहरुलाई सकरात्मक सन्देश र उर्जा प्रदान गर्न भुमिका खेल्न रचनात्मक कार्यक्रम सहित हरेक बर्ष जेसिस सप्ताह मनाउने गरिएको बागलुङ जेसिजका निवर्तमान अध्यक्ष सुदिप राजभण्डारीले बताउनुभयोे ।