परम्परागत संस्कृतिको जगेर्ना गर्नुपर्ने

रुद्रेपिपल युवा क्लब बागलुङको तीज मेला शुरु
-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६

महिलाहरु माथि हुने हिंसा न्युनिकरण गर्दै परम्परागत संस्कृतिको जगेर्ना गर्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

रुद्रेपिपल युवा क्लब बागलुङको आयोजना, रुद्रेपिपल टोल विकास समितिको संयुक्त आयोजनामा भएको आठौँ तिजी मेला महोत्सवमा बोल्ने सहभागीले यस्तो बताएका हुन् । उनीहरुले मौलिक कला संस्कृतिलाई जोगाउन सबैले आआफ्नो तर्फबाट पहल गर्नुपर्ने बताएका छन् ।

नेपालीहरुको महान चाडपर्व एवं परम्पराहरु लोप हुने अवस्था सिर्जना हुन थालेको भन्दै भड्किलो नभई संस्कृति जगाउने खालको हुनुपर्ने सहभागिको भनाई थियो । विगतको तुलनामा महिलाहरु समाज तथा राष्ट्र निर्माणमा अग्रसर रहेकाले सामाजिक, शैक्षिक तथा राजनैतिक क्षेत्रमा अगाडी बढ्नुपर्ने बताएका छन् ।

स्थानीय कला, संस्कृतिको संरक्षणका लागी एवं हरेक बर्ष गरिने कार्यक्रमलाई निरन्तरता दिनका लागी कार्यक्रमको सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन ८४ बर्षिया ज्येष्ठ नागरिक तिलकुमारी प्रधानले गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका वाड नम्बर २ का सदस्य सुरज बोसेल, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, वेपत्ता परिवारका संयोजक जसोधा शर्मा, महिला हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिलादेवी खड्का, उद्योग बाणिज्य संघ बागलुङका प्रथम उपाध्यक्ष राजन शाक्य, महिला उद्यम विकास समितिका अध्यक्ष भगवती केसीले लगायतले संस्कृतिको संरक्षण गर्दै कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम रुद्रेपिपल युवा क्लब बागलुङका कार्यवाहक अध्यक्ष शकुन्तला थापा बोसेलको अध्यक्षता, रुद्रेपिपल टोल विकास संस्थाका अध्यक्ष बिरबहादुर किसानको स्वागत र क्लबका सचिव अनिता केसी बोसेलको सञ्चालनमा सम्पन्न भएको थियो । साथै क्लबले स्लो बाईक तथा स्कुटी रेश प्रतियोगिता, महिला तथा पुरुष छेलो प्रतियोगिता, घैटो फोर, शान्ति दौड लगायतका प्रतियोगिताको आयोजना गरेको थियो । यस्तै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुती देखाएका थिए ।