अबको नेतृत्व आर्थिक परिवर्तनकोः मन्त्री पुन

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले देशमा आर्थिक तथा गरिवी बिरुद्धको लडाई लड्नुपर्ने आवश्यकता औलाउनु भएको छ ।
बागलुङको गल्कोट हटियामा आयोजित नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी कार्यकर्ता भेटघाट तथा प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै मन्त्री पुनले राजनैतिक लडाई सकिएकाले अव देशमा आर्थिक तथा गरिवी बिरुद्धको लडाई आवश्यक रहेको बताउनुभयो ।
उहाँले सरकार र पार्टीवीच नङ मासुको सम्वन्ध हुनुपर्ने बताउदै पार्टी कार्यकर्ताहरुलाई हरेक विपन्न गरीव जनताहरुको दुख सुखसंग हातेमालो गर्न निर्देशन दिनुभयो । उहाँले स्रोतहरुको व्यवस्थापन गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री पुनले गरिव विपन्न परिवारको आर्थिक अवस्था सुधारको लागि सिप युक्त तालिम संचालनको विषयमा स्थानीय तहसँग समन्वय गर्ने जानकारी दिनुभयो ।
कार्यक्रम नगर कमिटी अध्यक्ष ललित श्रीसको अध्यक्षता, कौशिला घर्तीको स्वागत मन्तव्य र पार्टी सचिव डम्मर श्रीसको सन्चालनमा सम्पन्न भएको थियो ।
यसैवीच बुर्तिवाङ देखी फर्किने क्रममा प्रदेशमन्त्री पुनले गल्कोट नगरपालिका ९ बाँसखोला स्थित भैरब माध्यमिक विद्यालयको निरीक्षण गर्नु भएको थियो । निरीक्षणका अवसरमा प्रदेश मन्त्री पुनले विद्यालयको भौतिक निर्माणका लागी प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।