आज तिज पर्व निराहार व्रत बसेर मनाईदै

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज आज निराहार व्रत बसेर भगवान महादेवको पुजा आरधनाका साथ मनाईदैछ ।
विवाहिता महिलाले आफ्ना पतिको दीर्यायु र सुःख शान्तिको कामना गरेर तिजमा व्रत वस्ने गर्छन भने अविवाहिता महिला सुयोग्य वरको कामना सहित व्रत वस्ने परम्परा चलिएको छ ।
परापूर्व कालमा हिमालय की पुत्री पारवतीले महादेव पति पाउँ भनि निराहार व्रत बसेपछि महादेव पति पाएको किम्वदन्ति अनुसार आजका दिन हिन्दु महिलाहरुले त्यसको अनुसरण गर्दै आएका छन् ।
सौभाग्यको प्रतिक मानिने रातो चुरा हिरो पोते रातो साडि चोली ब्लाउज सिन्दुर लगायतका श्रृङगारले सजिएर महिलाहरुले आज दिनैभरी नाचगान गरेर रमाइलो गर्छन । बेलुका पुजा गरेर फलफुल दहि दुध वा यस्तै प्रकारका खाना खाने गरिन्छ । रमाइलो गर्ने क्रममा उनिहरुले माइति र आफ्नो घरका आफन्तलाई गीतका मार्फतबाट घोचपेच समेत गर्ने गर्छन् ।
द्धितियाका दिन दर खाएर पाचमिका दिन पुजा गरेर तिजलाई समापन गर्ने गरिन्छ । आजका दिन महिला कर्मचारीलाई सार्वजनिक विदा दिईएको छ ।