धौलागिरी एफएमद्धारा रेडियो उद्घोषण तालिम शुरु

-- बागलुङ / प्रकाशित मिति : शनिबार, साउन १९, २०७५

तस्विरः तालिम उद्घाटन गर्दै प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटा ।

धौलागिरीको पहिलो रेडियो धौलागिरी एफएम बागलुङले आयोजना गरेको १० दिने रेडियो उद्घोषण, पत्रकारिता तथा प्राविधिक तालिम आजदेखी शुरु भएको छ ।
तालिमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले गर्नुभयो । उद्घाटन पछि बोल्दै सांसद सापकोटाले अबको पत्रकारिता समृद्धि केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । मिडियाले सधै नकरात्मक बिषय मात्र उठान गर्छ भन्ने सोच व्याप्त रहेको भन्दै उहाँले अब नकरात्मक चिजलाई तिलाञ्जली दिएर समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा टेवा पुग्ने समाचार सामग्री प्रस्तुत गर्न आग्रह गर्नुभयो । पत्रकारितामा सामाजिक सञ्जाल र न्यू मिडिया ठुलो चूनौतिको रुपमा देखिएकाले एफएम रेडियोले अब आफ्नो प्रस्तुतिकरण, बिषय, शैली र सिर्जनशिलतामा फरक देखाउनुपर्नेमा उहाँको जोड थियो । धौलागिरी एफएम आञ्चलिक हिसावले पनि अग्रणी रेडियो भएकाले यसले खेल्ने भुमिका अरुका लागि पनि प्रेरणादायक हुने भएकाले सोही अनुसार भुमिका खेल्न आग्रह गर्नुभयो ।

धौलागिरी एफएमका अध्यक्ष हरिनारायण गौतमले मिडियामा आकर्षण घटिरहेको चर्चाका बिच धौलागिरी एफएमको तालिममा देखिएको युवाहरुको व्यापक सहभागिता र उत्साहले जिल्लाको पत्रकारितामा फरक सन्देश दिन सफल भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल, महासंघका गण्डकी प्रदेश सदस्य संगम घर्ती मगर, शाखा सल्लाहकार कोपिला कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
आगामी श्रावण २६ गते सम्म चल्ने तालिममा बागलुङ, म्याग्दी र पर्वतका ३६ जनाको सहभागिता रहेको धौलागिरी एफएमका स्टेशन म्यानेजर दिल शिरीषले जानकारी दिनुभयो । दुई कार्यक्रम प्रस्तोता, दुई संवाददाता र एक प्राविधिक गरि उत्कृष्ट ५ जना छनोट गरि एफएममै काम गर्ने अवसर दिने तालिमको धौलागिरीका अनुभवि तथा दक्ष पत्रकार सञ्चारकर्मीले सहजीकरण गर्ने एफएमले जनाएको छ । उद्घाटन कार्यक्रम धौलागिरी एफएमका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, स्टेशन म्यानेजर दिल शिरीषको स्वागत मन्तव्य र कार्यक्रम प्रस्तोता तथा समाचार बाचक सचदेव क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।