‘बाघ’ बन छोडेर बस्तीमा

-- बागलुङ / प्रकाशित मिति : बुधबार, साउन २, २०७५

जिल्लामा आहाराको कमीले ‘बाघ’ चितुवा गाउँ बस्तीमै पस्न थालेका छन् ।

तिव्र मानवीय चाप, बन अतिक्रमण र मिचाहा झारले बासस्थानमा समेत असर पर्न थाले पछि ‘बाघ’ बन छोडेर गाउँ बस्तीमै पस्न थालेको हो ।

जसका कारण मानिस माथि आक्रमणको जोखिम बढ्दै गएको जिल्ला बन कार्यालय बागलुङका प्रमुख बिशाल घिमिरेले बताए । जिल्लाका बिभिन्न स्थानमा ‘बाघ’ गाउँ घरमै पसेर कुखुरा, भेडा, बाख्रा माथि आक्रमण गरेर खाइदिन थाले पछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । भकुण्डे, तित्याङ, सिगाना, बागलुङ बजारकै आसपासका क्षेत्रमा समेत ‘बाघ’ आतकं बढेको छ । ‘पछिल्लो समय हामीले गाउले भाषामा ‘बाघ’ भनिदै आएको चितुवालाई आहाराको कमी भएको पाइएको छ,’ उनले भने, ‘बनमा आहाराको कमी भए पछि गाउँ घर आउने, घरपालुवा जनवार, पशुपंक्षी र मानिसलाई आक्रमण गर्ने दर बढेको छ ।’ प्रयाप्त आहाराको कमी हुँदा मानवीय जोखिम समेत बढ्दै गएकाले यस बिषयमा बन सम्वद्ध अधिकारी, संरक्षणविद र सरोकारवाला सबै संवेदनशिल बन्नुपर्ने उनले बताए ।

केही साता अघि मात्र बागलुङ नगरपालिका १० भकुण्डेमा ‘बाघ’ मृत अवस्थामा फेला परेको थियो । स्थानीयले सडक छेउमै मृत अवस्थामा फेला पारे पछि जिल्ला बन कार्यालय बागलुङमा खबर गरेका थिए । बन कार्यालयका कर्मचारीको टोली पुगेर पोस्टमार्टम गर्दा बिष सेवन (पोइजन) का कारण ‘बाघ’ चितुवा मरेको पाइएको जिल्ला बन अधिकृत घिमिरेले बताए । ‘गाउँमै पटक पटक धेरैको पशुपंक्षी खाइदिएर सताएकाले गाउँलेले आजित भएर मरेको पशुपंक्षीमा बिषादी राख्दिएको हाम्रो आशंका छ,’ उनले भने, ‘त्यही खाएकाले मरेको हुनसक्छ ।’

अहिले घाँसे मैदान नहुँदा ‘बाघ’ चितुवाको आहारा प्रजाति पनि घटेको छ । यस्तो अवस्थामा बाघको संख्या बढाउन र जोखिम न्युनिकरण गर्न आहाराको व्यवस्थापन र बासस्थान संरक्षण गर्नुपर्ने देखिएको छ । ‘बाघको आहारा वृद्धि गर्नु अहिले ठुलो चुनौतीको रुपमा देखिएको छ’, ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख अणनाथ बरालले भने, ‘चोरी सिकारभन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौती छ ।’ बाघको आहारा हुने जनावर लगायतको वृद्धि र संरक्षणमा लाग्नु जरुरी रहेको उनले बताए । बाघले आहारा गराउने जनावर भनेका चित्तल, लघुना, बँदेल, रतुवा, गौरी गाईलगायतका हुन् । एउटा बाघले एक पटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ । जुन उसलाई एक हप्ता सम्मका लागि हुन्छ । ‘बाघ बुढो भयो भने, बिरामी भयो भने बनमा सहज रुपमा शिकार गर्न सक्दैन, र गाउँ बस्तीमा पस्छ,’ आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत बरालले भने, ‘पोथी बाघ आफ्ना बच्चालाई आहारा जुटाउन सकेन भने पनि त्यसको खोजीमा नजिकैको बस्ती पस्ने क्रम बढेको छ, त्यसैले मानवीय जोखिम घटाउन पनि आहाराको व्यवस्थापनका बिकल्प र यसको बासस्थान जोगाइ राख्नमा बिशेष ध्यान दिनुपर्छ ।’
तस्बिरः जिल्लाको भकुण्डे गाउँमा मृत अवस्थामा भेटिएको ‘बाघ’ (१) र पोस्टमार्टम गर्दै बनका कर्मचारी (२)