एन्फा कपमा सिद्धार्थ र अमर आदर्श च्याम्पियन

-- बागलुङ / प्रकाशित मिति : बुधबार, साउन २, २०७५

एन्फा कप बागलुङ अन्तरविद्यालय फुटबल प्रतियोगितामा सिदार्थ शिक्षा सदन छात्र र अमर आदर्श मावि छात्रातर्फ च्याम्पियन बनेको छ ।
सोमबार भएको फाइनलमा छात्रतर्फ इन्जुरी समयमा २ गोल गर्दै सिद्धार्थले चिल्ड्रेन लाइफलाई ३–१ ले र छात्रातर्फ अमर आदर्शले कालिगण्डकी बोर्डिङ ४–० ले हराउँदै उपाधि जितेका हुन् ।

छात्र तर्फ सिदार्थले चिल्ड्रेन लाइफसँग गत वर्षको फाइनलमा बेहोरोको हारको बदला लिएको छ । खेलमा पछि परेर सिद्धार्थ उल्टाउन सफल भएको थियो । ६० मिनेट खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको ३४ औं मिनेटमा राजीव श्रीसको गोलबाट चिल्ड्रेनले अग्रता लिएको थियो ।

५७ औं मिनेटमा सिद्धार्थका कप्तान युवेश थापाले काउन्टर अट्याकमा गोल गर्दै खेललाई बराबरीमा पुराएका थिए । इन्जुरी समयमा युवेश र ओम मगरले गोल गरेपछि सिद्धार्थ विजयी भएको थियो ।

अखिल नेपाल फुटबल संघको बार्षिक कार्यक्रम अनुसार भएको प्रतियोगिताको छात्रतर्फ जिल्लाका १६ विद्यालयको सहभागिता रहेको थियो । उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गरेको सिद्धार्थ प्रदेश ४ को एन्फा कपका लागि छनोट भएको छ । चिल्ड्रेन लाईफले ८ हजार रुपैयाँ प्राप्त गर्यो ।

छात्रा तर्फ ज्ञानु केसी र सुमिना केसीको समान २ गोलमा अमर आदर्शले कालिगण्डकी बोर्डिङमाथि सहज जित हासिल गर्यो । ज्ञानुले दोस्रो र सातौं तथा सुमिनाले ११ औं मिनेट र १२ औं मिनेटमा गोल गरेकी थिइन् । जिल्लामा पहिलो पटक आयोजना गरिएको छात्रा तर्फ ३ विद्यालयको सहभागिता थियो ।