नेकपाले छान्यो ७७ वटै जिल्लाका इन्चार्ज र सहइन्चार्ज

बागलुङको इन्चार्जमा बलावति शर्मा, सह–इन्चार्जमा मनकुमारी जिसी केसी
-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : सोमवार, साउन ६, २०७६

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका इन्चार्ज र सह इन्चार्जको टुङ्गो लगाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जहरुको नाम अनुमोदन गरेको हो ।
अनुमोदन नामहरू छिटै सार्वजनिक गर्ने र स्थायी तथा केन्द्रीय समिति बैठकमा पेस गरिने नेकपाले जनाएको छ । यसअघि शीर्ष नेताहरूको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका इन्चार्जलाई दिने सहमति गरेको थियो ।
सो अनुरूप भागबन्डाका आधारमा पूर्व एमालेले इन्चार्ज पाउने ठाउँमा तत्कालीन माओवादी केन्द्रका इन्चार्जले सह इन्चार्ज पाएका भने माओवादी केन्द्रले इन्चार्ज पाएको स्थानमा पूर्व एमालेका जिल्ला इन्चार्जले सह इन्चार्जको जिम्मेवारी पाएका छन् ।
त्यस्तै सचिवालय बैठकले ६ वटा महानगरपालिकाको पनि इन्चार्ज र सह इन्चार्ज टुङ्गो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले विभिन्न विभाग, आयोग र निकाय र प्रवास विभागको एकीकरण अर्को बैठकले टुंग्याउने जानकारी दिनुभयो । अर्को बैठक मङ्गलवार दिउँसो १ बजे धुमबाराहीमा बस्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यसैबिच नेकपाले साविक धौलागिरि क्षेत्रको पनि इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्गो लगाएको छ । बागलुङको इन्चार्जमा बलावति शर्मा, सह–इन्चार्जमा मनकुमारी जिसी केसी, पवर्तको इन्चार्जमा गुप्तबहादुर ठकुरी, म्याग्दीको इन्चार्जमा साँसद भुपेन्द्रबहादुर थापा र मुस्ताङको इन्चार्जमा श्रीमाया थकालीको नाम अनुमोदन गरेको छ ।