धौलागिरी एफएमको १ हप्ते तालिम शुरु

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, बैशाख २३, २०७६

धौलागिरीको पहिलो एफएम धौलागिरी एफएम बागलुङको आयोजनामा सोमवारीदेखी एक हप्ते रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ ।

तालिमको उद्घाटनका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष तथा धौलागिरी एफएमका स्टेशन म्यानेजर दिल शिरीषले तालिमले जिल्लाको पत्रकारितामा नयाँ पुस्ताको आगमनलाई प्रोत्साहित गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

‘पछिल्लो समय सञ्चार माध्यम प्रतिको आकर्षण घटिरहेको जस्तो देखिन्छ, यसमा मिडिया सञ्चालक र स्वयम् सञ्चारकर्मीको कमजोर उपस्थिति कारक छ,’ शिरीषले भन्नुभयो, ‘पत्रकारितामा लागेर मेहनत गर्ने पत्रकारहरुको माग, आवश्यकता र तलब सबै राम्रो छ ।’ पत्रकारितामा टिक्न र बिक्न हर बखत मेहनत आवश्यक भएकाले त्यसका लागि तयार रहेर मात्र यस क्षेत्रमा आउन उहाँले सहभागीलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति धौलागिरीका पूर्व प्रमुख यामबहादुर थापाले रेडियो पत्रकारिता तालिमले सञ्चार क्षेत्रमा काम गर्नमा मात्र नभई अन्य क्षेत्रमा काम गर्न खोज्ने र रोज्नेहरुका लागि पनि महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गर्ने अभिप्रायले आयोजना गरिएको तालिममा बागलुङ, पर्वत र म्याग्दीका १५ भन्दा बढीले सहभागिता जनाएको एफएमका कार्यकारी सम्पादक नविन शिशिर बिकले जानकारी दिनुभयो । तालिम आगामी बैशाख २९ गते सम्म सञ्चालन हुनेछ । तालिमको जिल्लामा क्रियाशिल अनुभवी पत्रकारहरुले सहजीकरण गर्ने एफएमले जनाएको छ ।