जनप्रतिनिधि रसाइलीले दिए तलब भत्ताबाट जैदीमा २० स्टेचर

संवाददाता, धौलागिरी एफएम
-- / प्रकाशित मिति : सोमवार, चैत्र २५, २०७५

जनप्रतिनिधि अहिले तलब भत्ता, सुविधाभोग र कमिसनमा लिप्त भएको सर्वत्र चर्चा र आलोचना छ । तर जिल्लाका एक जनप्रतिनिधिले भने आँफुले अहिले सम्म प्राप्त गरेको तलब भत्ता समाजसेवामा खर्चदै आएका छन् ।
जिल्लाको जैमिनी नगरपालिका वडा नं ७ जैदीका वडा सदस्य केन्द्र रसाइलीले आँफुले प्राप्त गर्ने तलब भत्ताबाट आइतवार जैदीका २० वटा टोलमा स्वास्थ्य सामग्री प्रदान गरेका छन् । तलब भत्ता बापत प्राप्त एक लाख २० हजार रुपैयाँ बराबरको स्टेचर पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले हस्तान्तरण गरेका थिए ।
गाउँका जनता आकस्मिक विरामी भएर स्वास्थ्य संस्था र अस्पताल लैजान सहयोग पुगोस् भन्ने अभिप्रायले राज्यबाट प्राप्त तलब भत्ताबाट स्टेचर प्रदान गरेको रसाइलीले बताए । ‘राज्यबाट पाएको सेवा सुबिधा म एक पैसा पनि व्यक्तिगत काममा प्रयोग गरेको छैन,’ उनले भने, ‘म सधैं गरिब र विपन्न नागरिकको साथमा रहने छु, आँफुलाई जिविका चलाउन अन्य श्रम र व्यवसाय गर्छु ।’
वार्ड सदस्य रसाइलीले आँफू निर्वाचित भएपछि यसअघि पाएको रकम जैदीको जनता बाल संरक्षण प्राविका विद्यार्थीलाई एक शैक्षिक सत्रभर पुग्ने स्टेशनरी सामग्री र सोही स्थानको सँस्कृत मावि बेलबगरको विज्ञान विषयको ल्याब स्थापना गर्न ८४ हजार बराबरको उपकरण सहयोग गरेका थिए ।
तस्विरः सामग्री हस्तान्तरण गर्दै पूर्व अर्थमन्त्री महेश आचार्य, वडा सदस्य केन्द्र रसाइली ।