हाम्रा सन्ततिलाई उद्यमी बन्ने आर्शिवाद दिऊ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

-- संवाददाता, धौलागिरी एफएम / प्रकाशित मिति : शनिबार, चैत्र ९, २०७५

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताको आयस्तर नबढे सम्म समृद्धि सम्भव नभएको बताएका छन् ।

बागलुङ नगरपालिकाको बिशेष पहलमा नगरपालिकाको वडा नम्बर १ बाङ्गेचौर देखी पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ अदुवाबारी जोड्ने गरि निर्माण गर्न लागिएको पुलको शनिवार शिलन्यास पछि बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारले आयआर्जनको स्रोत, सम्भावनाको पहिचान गरि पूर्वाधार तयार गर्न क्रियाशिल रहेको बताए ।

दुई जिल्ला जोड्ने गरि निर्माण हुन लागेको पुल आवत जावतका लागि मात्र नभई समृद्धिका लागि प्रयोग गर्न स्थानीयलाई आग्रह गरे । ‘अब यस्ता संरचना र पूर्वाधार शोखका लागि होइन, समृद्धिका लागि उपयोग गर्नुपर्छ,’ उनले भने, ‘सरकारले बनाउने काम मात्र गर्छ, यसको भरपुर उपयोग कसरी गर्दा फाइदा लिन सकिन्छ भन्नेमा नागरिक पनि सचेत र जिम्मेवार बन्नुपर्छ, स्थानीय सरकारले समन्वय र सहजीकरण गर्नुपर्छ ।’ उनले अब हरेक अभिभावकले आफ्ना सन्ततिलाई आर्शिवाद दिदाँ डाक्टर, पाइलट र ठुला मान्छे मात्र बन्न नभई उद्यमी बन्नु भनेर आर्शिवाद दिने संस्कारको समेत जरुरत भएको बताए । ‘हाम्रो समाज पैसा, स्वार्थ र बैदेशिक रोजगारमा केन्द्रित हुन थालेको छ,’ उनले भने, ‘गाउँ घरमै बसेर उद्यम गर्ने भनेको लज्जाको काम भन्ने संकुचितता छ, अब यसलाई सबै मिलेर चिर्नुपर्छ ।’

बागलुङ बजारबाट पाङ पुग्न पैदल मार्ग मार्फत डेढ घण्टा लाग्ने भएपनि पुल निर्माण भएपछि १५ मिनेटमा पुगिनेछ । कालिगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालिगण्डकी करिडोर माथि पुल बन्ने भएकाले पर्यटकिय दृष्टिकोणले पनि महत्वपुर्ण मानिएको छ । दुई जिल्ला जोड्ने यस पुल निर्माण भए पछि पर्यटकिय क्षेत्रको विकास संगै आर्थिक स्तर बृद्धिका लागि पनि सहयोग पुग्ने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । लामो पुल भएकाले प्रविधि र अन्य हिसावले चुनौतिपूर्ण भए पनि निरन्तरको पहल र दबाव पछि सरकारले यसै पुलका लागि चिनिया प्रविधि भित्राएर काम शुरु भएको मेयर पौडेलले बताए ।
तस्विरः झोलुङ्गे पुलको शिलन्यास कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना ।