प्रदेश सांसद सापकोटाको सुझाव–‘एनजिओहरु स्टाटेजी बदल’

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५

गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले गैरसरकारी संस्था (एनजिओ)हरुलाई आफ्नो रणनीति बदलेर उद्यममा लाग्न आग्रह गर्नुभएको छ ।
शुक्रबार धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र (डिसिआरडिसी)को २३ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनमा बोल्दै सांसद सापकोटाले नेपाल समृद्धिको बाटो तर्फ उन्मुख रहेको बताउँदै गैरसरकारी संस्थाहरुलाई सोही अनुसार उत्पादनमुलक काममा लाग्न सुझाव दिनुभएको थियो ।
सापकोटाले विगतका समयमा गैरसरकारी संस्थाले सामाजिक परिवर्तनमा पुर्याएको योगदान सम्झिदै परिवर्तित समय अनुसार आफ्नो रणनीति बदल्नुपर्ने बताउनुभएको छ ।
काठेखोला गाउँपालिका प्रमुख अमर थापाले गैरसरकारी संस्थाहरुले परिणाम दिने गरि काम गर्नु पर्नेमा जोड दिनुभयो । सामाजिक आन्दोलनमा गैरसरकारी संस्थाहरुले पुर्याएको योगदानलाई भुल्न नहुने समेत उहाँको भनाई थियो ।
बागलुङ नगर पालिकाका सामाजिक विकास शाखा संयोजक गणेश थापा, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विजय राना, नेत्रज्योति संघका अध्यक्ष धु्रव केसी, डिसिआरडिसीका पूर्व कोषाध्यक्ष पुनम शर्मा, धौलागिरी बहुमुखी क्याम्पसका प्रध्यापक गोविन्द गौतम, पूर्व सदस्य गिता शर्माले बोल्नुभएको थियो ।
संस्थाले उत्कृष्ट काम गरेको भन्दै ३ जना कर्मचारीलाई पुरस्कृत गरेको थियो । पुरस्कृत हुनेहरुमा गणेश पौडेल, दिलकुमारी श्रीष र नरबहादुर पुलामी रहनुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघले सञ्चालन गरेको ‘हामी सबैको रहर नेपाल पत्रकार महासंघ बागलुङको घर’ अभियानको लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रका अध्यक्ष इश्वरलाल राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यकारी सचिव सिर्जना थापा मगरले गर्नुभएको थियो ।