बाँदर समाउन नयाँ प्रविधि

-- / प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५

पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ ।
बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनाँैको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो ।
शुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकामा अब स्थानीय व्यक्तिलाई नै परिचालन गरी स्थानीय प्रविधिबाट बाँदर नियन्त्रण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो प्रविधि थोरै जनशक्तिबाट पनि बाँदर नियन्त्रणमा लिन सकिने खालको छ । बिहीबार मात्रै २१ बाँदर नियन्त्रणमा लिइएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यसअघि झण्डै साढे तीन सय बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएकामा फेरि नियन्त्रण गर्न थालिएको हो ।
बिहीबार पहिलोपटक शुरुआत गरिएको स्थानीय प्रविधि सफल भएको बाँदर नियन्त्रण तथा स्थानान्तरण समितिका अध्यक्ष सरस्वती अधिकारीले जानकारी दिनुभयो । स्थानीय व्यक्तिबाटै बाँदर नियन्त्रण गर्न सकिने भएपछि अब जतिबेला बाँदरको सङ्ख्या बढ्छ त्यतिबेला नियन्त्रण गरिहाल्न सकिने अधिकारीले बताउनुभयो ।
बाँदरले बालीनाली सखाप पारेको गुनासो चुलिएपछि गाउँपालिकाले अभियान नै चलाएर बाँदर समाउन थालेको हो । चालू आर्थिक वर्षको कात्तिक महीनासम्म नियन्त्रणमा लिइएका ३३० बाँदर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएको र फेरि समाएर खोरमा जम्मा गर्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो ।
गाउँपालिकाले बाँदर नियन्त्रणका लागि चालू आर्थिक वर्ष २०७५÷७६ मा १५ लाख विनियोजन गरेको थियो । गाउँपालिकाको उक्त अभियानले स्थानीय कृषकलाई ठूलो राहत मिलेको छ ।
पालिकाअन्तर्गत भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी, फलामखानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेकामा अहिले धेरै कम भएको स्थानीयवासीले बताएका छन् ।