म्याग्दी हिमाली जिल्लामा सूचीकृत, के हुन्छ फाइदा ?

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५

संसारको सातौं अग्लो धौलागिरीसहित दर्जनौं हिमशृङ्खला अवस्थित म्याग्दीलाई सरकारले हिमाली जिल्लामा सूचीकृत गरेको छ ।
म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ’केही नेपाल ऐन संशोधन गर्ने विधेयक (२०७५’ संघीय संसदको दुईवटै सदनबाट पारित गरेर कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।
राजपत्रमा प्रकाशित भएपछि म्याग्दीले बैधानिक हिसाबले हिमाली जिल्लाको मान्यता पाएको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले बताउनुभयो ।’ यसअघि नेपालका ७७ मध्ये २० वटा मात्र हिमाली जिल्लाको सूचिमा थिए,’सांसद थापाले भने, ’म्याग्दी हिमाली जिल्लाको २१ औं स्थानमा सूचिकृत भएको छ ।’
हिमाली भू–भाग ओगटेका स्थानीय तहबाट आएको माग बमोजिम जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुँदै राष्ट्रियसभाबाट फागुन १५ गते पारित भएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेपछि फागुन १९ गतेको राजपत्रमा प्रकाशित भएको थियो ।
हिमाली जिल्लाको मान्यताले वर्षौदेखि उठाउँदै आएको माग सम्बोधन भएकोमा खुसी लागेको धवलागिरी गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । संघीय संसदको बैठकमा विशेष समय लिएर सांसद भुपेन्द्र बहादुर थापा र गण्डकी प्रदेश सभामा सांसद विनोद केसीले हिमाली जिल्ला घोषणाका लागि म्याग्दीको हरेक आधार रहेको भन्दै सरकारको ध्यानकर्षण गराउनुभएको थियो ।
स्थानीय तहलाई संघीय र प्रदेश सरकारले दिने अनुदान र कर्मचारीको सेवा सुबिधा बढेर आकर्षित हुने वातावरण बन्ने जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।