एसइई दिने छात्रालाई सेनेटरी प्याड वितरण

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५

माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षामा सम्मिलित हुने बागलुङका छात्रालाई सेनेटरी प्याड वितरण गरिने भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बागलुुङ सेनेटरी प्याड वितरण गर्ने भएको हो ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत विष्णुुमाया पौडेलका अनुसार प्राकृतिक नियमानुसार छात्रामा हुने महीनावारीलाई सहजरुपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको बताउनुभयो ।
परीक्षा सञ्चालन भएको समयमा महिनावारी भएमा महिला विद्यार्थीहरुले आत्तिएर परीक्षामा असफल नतिजा आउन नदिन यो कार्यक्रम सुुरु गरेको उहाँले बताउनुभयो । परीक्षा केन्द्रमा सहभागी छात्रा परीक्षार्थी मध्ये १५ प्रतिशतमा महीनावारी हुने अनुमान गरिएको छ ।
चैत १० गतेदेखि शुरु हुने एसइइ परीक्षामा बागलुुङका ५ हजार ५ सय २३ जना विद्यार्थी सहभागी हुँदैछन् । जसमध्ये दुई हजार ८७५ छात्रा रहेका छन । बागलुुङमा ३१ परीक्षा केन्द्र तोकिएको छ ।
सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ बागलुुङका प्रमुुख कुष्मराज उपाध्यालाई ३६ हजार रुपैयाँको चेक प्रदान गरेको छ ।
चेक रकम ग्रहण गर्दै जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुुख कुष्मराज उपाध्यायले छात्रा परीक्षार्थीका लागि सामाजिक विकास मन्त्रालयले प्रशंसनीय सहयोग गरेको बताए । गत वर्ष सुुआहाराले परीक्षामा सहभागी छात्रा विद्यार्थीहरुलाई निशुुल्क प्याड वितरण गरेको उपाध्याको भनाई छ ।
चैत्र ५ गते प्रश्नपत्रसँगै केन्द्रध्याक्षसँग प्याड सम्बन्धीत केन्द्रमा पठाउने तयारी गरेको संयोजक उपाध्याले बताउनुभयो । सम्पूर्ण केन्द्रहरु छात्रा मैत्री रहेको बताइएको छ । परीक्षा स्थलभन्दा टाढा शौचालय भएको स्थानमा महिलामैत्री अस्थायी शौचालन निर्माण गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेश अन्तर्गतका मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा सेनेटरी प्याड खरीदका लागि झण्डै पाँच लाख रकम प्रदान गरेको छ ।