चैत्राष्टमी मेला २०७५ को तयारी

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५

परम्परागते चैत्राष्टमी मेला यस बर्ष चैत्र २३ देखि वैशाख २ गतेसम्म संचालन हुने भएको छ ।
चैत्र २३ गते देखि नवरात्र प्रारम्भ हुने भएकाले सोही दिनदेखि मेलाको तयारी शुरु हुने बताइएको छ । मेलालाई व्यवस्थित रुपमा संचालन गर्नको लागी आयोजक कालिका भगवती गुठी सहित सरोकारवाला निकाय तथा संघ सस्थाहरुसंग समन्वय र सहयोग लिइनेछ ।
चैते दशैं अर्थात चैत्राष्टमीको समयमा कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट भत्तजन आउने पूजा, पाठ, पन्चबली, भाकल पूजा गर्ने गर्दछन । चैत्राष्टमीमा स्थानिय उत्पादनका सामाग्रीहरुको ठूलो संख्यामा प्रबर्द्धन र किनवेच समेत हुने गर्दछ ।
चैत्राष्टमी मेला २०७५ का अवसरमा लोक दोहोरी, खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता, खुल्ला छेलो प्रतियोगिता, बिविध खेलकुद प्रतियोगिता, रथ यात्रा, जिल्ला भित्रका विविध सांस्कृतिक गतिविधी, ख्याती प्राप्त कलाकारहरुको सांगितिक प्रस्तुती, जिल्लाका पर्यटकीय स्थलहरुको फोटो तथा डकुमेन्ट्री प्रदर्शनी आदी कार्यक्रमहरु समावेश गरिने र मेला सम्पन्न गर्न करिव ३० लाख खर्च हुने कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।
परम्परादेखि कालिका मन्दिर परिसर क्षेत्रमा लाग्दै आएको मेलालाई बागलुङ बजारसम्म जोड्ने गरी क्रियाकलापहरु संचालन गर्ने तयारी गरिएको खड्काले बताए । खड्काका अनुसार गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन प्रबद्र्धन बर्षको रुपमा मनाउने घोषणा गरे अनुसार चैत्राष्टमी मेलालाई पर्यटन मैत्रि बनाउन प्रदेश सरकारसंग समन्वय गरी कार्यक्रम गरिने भएको छ ।