दोसल्लेमा आमाहरुको अगुवाइमा पदमार्ग निर्माण

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेमा आमाहरुको अगुवाइमा पदमार्ग निर्माण भएको छ ।
महिलाहरुले नाचगान गरेर जुटाएको पैसाले पदमार्ग बनाएका हुन् । जनजागृति आमा समूहको नेतृत्वमा दोसल्ले गाउँभरी ढुङ्गाको सिढी सहितको पदमार्ग बनाएका हुन् ।
डेढ मिटर चौडाई भएको ५०० मिटर पदमार्ग निर्माणमा नौ लाख ६३ हजार ८७० रुपैयाँ खर्च भएको समूहकी मायादेवी पाइजाले बताउनुभयो ।
गाउँपालिकाले एक लाख ९८ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको पदमार्ग बनाउन आमा समूहको कोषमा रहेको तीन लाख ५८ हजार ९३० र चन्दाबाट थप तीन लाख ६० हजार ४४० रुपैयाँ जुटाइएको छ ।
४३ घरधुरीले ४६ हजार ५०० रुपैयाँ बराबरको श्रमदान गरेका छन् । गाउँमा आउने लाहुरेलाई स्वागत, किरिया, बिवाह, छेवारमा नृत्य देखाएर कोषमा जम्मा गरेको पैसा खर्चेर बाटो बनाएको पाइजाले बताउनुभयो ।
उनिहरुले यसअघि पनि आमा समूहले तिप्ल्याङ देखि दोसल्लेसम्म दुई किलोमिटर भन्दा बढी घोरेटो बाटो बनाएका थिए । सिढी सहितको पदमार्ग बनेपछि भिरालो बाटोमा चिप्लीएर लड्ने, दुर्घटना हुने जोखिम घटेको छ । बालबालिका र वृद्धबृद्धा पनि सजिलै हिड्डुल गर्न पाएका छन् ।