राहत शिक्षक आन्दोलनको कारण पठन पाठन प्रभावित

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५

आन्दोलनरत राहत शिक्षकहरुले आह्वन गरेको विद्यालय बन्दको कारण मंगलबार बागलुङका अधिकांश सामुदायिक विद्यालयमा पठन –पाठन प्रभावित भएको छ ।
सामुदायिक विद्यालयमा कार्यरत राहत तथा बालविकास शिक्षकले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनलाई सरकारले हस्तक्षेप गरेको विरोधमा दश स्थानीय तहका अधिकांश विद्यालय पूर्ण रुपले बन्द भएका हुन् ।
राहत तथा बालविकास शिक्षकको बहुमत भएको विद्यालय पूर्णरुपले बन्द भएका थिए । अन्य विद्यालयले भने नैतिक समर्थनका लागि भन्दै विद्यालय आंशिक बन्द भएको रातह शिक्षक संघर्ष समिति बागलुङका अध्यक्ष हरिबहादुर कँुवरले जानकारी दिनुभयो ।
एसईई परीक्षा चैत ८ गतेबाट र जिल्लाको वार्षिक परीक्षा चैत ७ गतेबाट हुने निर्धारण गरिएको अवस्थामा विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा उत्रिएपछि अभिभावकमा चिन्ता थपिएको छ ।
आइतवार तथा सोमवार काठमाडौंमा भएको शान्तिपूर्ण आन्दोलनमा धेरै शिक्षकहरु घाइते भएको भन्दै संघर्ष समितिले देशैभर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । राहत शिक्षकहरुलाई अस्थायी शिक्षक सरह प्रक्रिया पु¥याएर स्थायी हुनुपर्ने लगाएतका माग राख्दै आएका छन् ।
यसैबीच बागलुङको वडिगाड गाउँपालिका स्तरीय राहत शिक्षक संघर्ष समितिको गठन भएको छ । दिपक गिरिको अध्यक्षतामा गठन भएको १५ सदस्यिय समितिको उपाध्यक्षमा ऋषिराम भण्डारी, सचिवमा शिव पोखरेल, सहसचिवमा डुल वहादुर कुँवर (दीपक), कोषाध्यक्ष सरस्वती आचार्य रहनुभएको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय एकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याका अनुसार बागलुङमा प्रावि ३१८, निमावि १६६, मावि (९–१०) मा १५४ र मावि ११–१२ मा ८० गरी ७ सय १८ जना राहत शिक्षक रहेका छन् ।
यसैबीच, राहत तथा बाल विकास केन्द्र र अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा म्याग्दीमा मंगलबार सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।
राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुले स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विरोहमा आज देशव्यापी संघर्षका कार्यक्रम अन्र्तगत म्याग्दीमा पनि राहत शिक्षक समितिले जिल्लामा रहेका विद्यालयहरुमा पठनपाठन बन्द गर्न आह्वान गरेको थियो ।
अनिश्चितकालीन शैक्षिक हडतालको कारण सदरमुकाम बेनी लगायत ग्रामीण भेगमा रहेका विद्यालयहरुको समेत पठनपाठन प्रभावित बनेको छ ।
गत असोज २१ मा राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकसँग भएको सम्झौता कार्यान्वयनमा नल्याएपछि राहत, बाल विकास केन्द्र र अनुदान कोटामा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । संघीय शिक्षक ऐनमा आफूहरूलाई स्वतः स्थायी हुने व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।