प्रहरीसँग विद्याथीको एक दिन अभियान

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५

‘प्रहरी’ शब्द सुन्दा वित्तिकै धेरैको मानसिकतामा झट्ट आउने तस्विर हो, हातहतियारले सुज्जित आम मानिस भन्दा फरक पहिचान, अधिकार र शक्ति भएका व्यक्तिहरुको संगठन ।
शान्ति सुरक्षा, अपराध न्युनिकरण र रोकथामको प्रमुख जिम्मेवारी प्राप्त गरेको प्रहरी संगठनका गतिविधि नागरिककै शान्ति सुरक्षाको लागि हुने गरे पनि सर्वसाधारण मानिसहरुको मानसिकतामा भने प्रहरीसँग टाढा रहनुपर्ने, जोगिनुपर्ने र प्रहरीसँग डराउनु पर्ने भ्रम कायम छ ।
प्रहरीले गर्ने काम आम सर्वसाधारणको हितमा हो भन्ने बुझाई नहुँदा समय–समयमा प्रहरी र नागरिकबीच द्वन्द पनि सृजना हुने गरेको छ । नागरिकसँगको निकट सम्बन्धबाट मात्रै प्रहरीका काम अपेक्षाकृत सफता हुने निष्कर्षमा पुगेको प्रहरी संगठनले समय–समयमा सर्वसाधारणसँग निकट हुने कार्यक्रम संचालन गर्दै आएको छ ।
प्रहरी र विद्यार्थीबीचको दुरी काम गर्न जिल्ला प्रहरी कार्यालय बागलुङले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार ‘प्रहरीसँग एकदिन अभियान सुरु गरेको छ । सदरमुकाम स्थित पाँच विद्यालयका विद्यार्थीहरुबीच उक्त अभियान शुरुवात गरेको हो ।
कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थी मंगलबारको पढाई छुट्टी गरेर शिक्षकसँग प्रहरी कार्यालय पुगेका विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरी शर्मा, प्रहरी नायव उपरीक्षक चिरञ्जिवी कोईराला लगायतको टोलीले फूल, अविर प्रदान गरी स्वागत गरेका थिए ।
राष्ट्रिय अभियानको रुपमा सुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यार्थी केन्द्रित अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । समाजमा हुनसक्ने अपराध, विकृति विसंगतिलाई न्यूनीकरण गर्न र राष्ट्रिय अभियानलाई सार्थकता दिन विद्यार्थी केन्द्रित अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक (एपी) शर्माले बताउनुभयो ।
‘विद्यालय तहका विद्यार्थीहरुलाई सचेत गराउन सके यसको प्रभाव दिर्घकालिन र प्रभावकारी हुन्छ, शर्माले भने, ‘यो अभियानमा विद्यार्थीलाई प्राथमिकतामा राखिएको हो ।’ अभियानबाट समुदाय र प्रहरीबीचको सम्बन्ध नजिक हुने अपेक्षा गरिएको छ । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने अभियान भएकोले शान्ति सुरक्षा व्यवस्थित बनाउन र अपराध न्यूनीकरणका लागि थप सहयोग पुग्ने एपी शर्माको विश्वास छ ।
प्रहरी कार्यालय पुगेका विद्यार्थीलाई मुद्दा शाखा, थुनुवा कक्ष, महिला तथा बालबालिका सेल, कन्ट्रोल, नागरिक सहायता कक्ष, सिसि क्यामेरा कक्ष लगायतको शाखा देखाउनुका साथै सम्बन्धीक शाखाबाट प्राप्त हुने सेवा प्रवाहका बारेमा जानकारी दिइएको थियो । निकै उत्साहका साथ प्रहरी कार्यालय पुगेका विद्यार्थीलाई चार जना प्रहरीको टोलीले सलामी प्रदर्शन गरेका थिए ।
विशिष्ट व्यक्ति प्रहरी कार्यालयमा आउने क्रममा स्वागतार्थ प्रदर्शन गरिने सलामीको नमुना प्रदर्शन गरेको प्रहरी नायव उपरीक्षक चिरिञ्जिवी कोईरालले बताउनुभयो । ‘प्रहरी कार्यालय भनेको पक्राउ गर्ने, थुन्ने र कुटपिट गर्ने कार्यालय हो भन्ने भ्रम चिर्न विद्यार्थी केन्द्रीत कार्यक्रम गरेको हो’ उहाँले भन्नुभयो ।
अभियानमा सहभागी भएपछि नयाँ विषय सिकाई भएको र यसबाट आफूसँगै समुदायमा हुनसक्ने सम्भावित घटना न्यूनीकरण र प्रहरीसँग समन्वय गर्न प्रोत्साहन मिलेको विद्यार्थी बालकुमारी अर्गेजाले बताउनुभयो । ‘नागरिकको सहयोगले मात्र प्रहरी सफल हुने रहेछ विद्यार्थी अर्गेजाले भन्नुभयो–‘ प्रहरीसँग सूचना लुकाउनु भन्दा सही सूचना दिन सके अपराध न्युनिकरणमा सहयोग पुग्ने रहेछ ।’
अभियानको क्रममा विद्यार्थीहरुलाई प्रहरीले के कसरी काम कारवाही गर्छ, सूचना कसरी दिन सकिन्छ भन्नेबारे विषयगत कार्यकक्षमा अवलोकन गराई जानकारी गराइएको थियो । त्योसँगै समाजमा हुने विकृति विसंगति, अपराध, लागू पदार्थ र ट्राफिक सचेतनाको बारेमा पनि अभिमुखिकरण गरिएको थियो ।
टोलटोलमा भएका अपराध तथा घटनाहरुको सूचना प्राप्त गर्न र काम गर्नलाई अभियानले सहयोग पुग्ने प्रहरीको विश्वास छ । कार्यक्रममा सहभागी विद्यार्थीबाट केही विद्यार्थी छनौट गरी अन्य विद्यालयमा पनि प्रहरीसँग एक दिन अभियान संचालन गर्ने एपी शर्माको भनाई छ ।