ठेला, तार र सडका खाल्डा व्यवस्थापनमा केन्द्रीत

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, फाल्गुन १३, २०७५

बागलुङ नगरपालिका–२ वडा कार्यालयले सडक पेटीका अव्यवस्थित ठेला, तार र सडकमा भएका खाल्डाखुल्डी व्यवस्थापनको काम सुरु गरेको छ ।
वडाअध्यक्ष जीवन आचार्यका अनुसार चालु आर्थिक वर्षको ‘सुन्दर नगर अभियान’ अन्तर्गत सडकमा भएका ठेला व्यवस्थापन गरी ट्राफिक सहजता, विजुलीका पोलमा भएका अनावश्यक तार हटाउन र सडकका खाल्डा पुरी सवारी संचालनमा सहजता थप्ने काम सुरु गरिएको छ । यस वर्ष वडा–२ को लागि ४९ लाख बजेट विनियोजित भएको छ ।
धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको समसामयिक बिययको साक्षात्कार कार्यक्रममा बोल्दै वडाध्यक्ष आचार्यले १ करोड ७ लाख बजेटबाट १ कि.मि सडक कालोपत्रे, ३ सय ९८ मिटर सडक ढलन, ३ सय ५० मिटर नालि सफा गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो ।
कार्यक्रममा पुर्वाधार समितिका संयोजक अर्जुन घिमिरेले बागलुङ नगरपालिका भित्र पुर्वाधारको काम तीव्र रुपमा भैरहेको जानकारी दिनुभयो । । ट्राफिक ब्यबस्थापन जथाभावी रूपमा निर्माण सामग्री थुपार्ने कामलाई समेत ब्यबस्थित गर्ने योजना रहेको घिमिरेले बताउनुभयो ।
कार्यक्रम धौलगिरी संचार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, क्लबका कोषाध्यक्ष कोपिला कडेलको स्वागत र क्लबका सचिव प्रदीप पन्तको संचालनमा सम्पन्न भएको थियो ।