‘फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता नभए नेपालमा बन्द हुन्छन’

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५

सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न अनिवार्य दर्ता हुनुपर्ने प्रावधानसहित सरकारले संसदमा विधेयक दर्ता गरेको छ ।
गएको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसदमा पेश गर्नुभएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राखिएको छ ।
अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल नेपालमा दर्ता नभई सञ्चालनमा छन् । सामाजिक सञ्जालहरु नेपालमा दर्ता नहुँदा नियमन गर्न कठिन भएको भन्दै सरकारले यस्तो बाध्यकारी विधेयक तयार पारेर संसदमा पेश गरेको हो ।
विधेयक संसदबाट जस्ताको तस्तै पारित भए दर्ता नभई चलेका सामाजिक सञ्जाललाई सरकारले रोक लगाउने छ । विधेयकको परिच्छेद १४ मा रहेको सामाजिक सञ्जालसम्बन्धी व्यवस्थाको दफा ९१ मा सामाजिक सञ्जाल दर्ता र नियमनका बारेमा उल्लेख छ ।
सामाजिक सञ्जालमा सकारात्मकभन्दा पनि नकारात्मक विषयले बढावा पाउँदै गएको भन्दै सरकारले त्यसलाई नियमन गर्न यस्तो विधेयक तयार पारेको सञ्चारमन्त्री बाँस्कोटाले बताउनुभयो ।
मन्त्री बाँस्कोटाले अहिले प्रधानमन्त्री, मन्त्रीहरु तथा अन्य जोसुकैको फोटो सम्पादित गरेर जनावरको जस्तो बनाइदिने तथा विभिन्न किसिमका अपमानजनक कुराहरु लेखेर राख्ने प्रवृत्ति मौलाएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पार्नुभयो ।