धौलागिरीमा विविध कार्यक्रम सहित ६९औँ प्रजातन्त्र दिवस मनाईयो

शान्ति सुरक्षा र जनजीविकामा ध्यान दिन जनप्रतिनिधिलाई आग्रह
-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५

जहानीय राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको स्मरण गर्दै ६९औँ प्रजातन्त्र स्थापना दिवस धौलागिरीमा विविध कार्यक्रम गरी मनाईएको छ ।
एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले २००७ साल फागुन ७ गते जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजातन्त्र दिवस मुल आयोजक समिति तथा जिल्ला निर्वाचन कार्यालयले तेस्रो निर्वाचन दिवसको अवसरमा मंगलबार बागलुङमा प्रभातफेरि तथा चियापन गरिएको थियो ।
प्रभातफेरि पछि आयोजित कोणसभामा बोल्ने वक्ताहरुले मुलुकमा राजनीतिक एजेन्डा सकिएको उल्लेख गर्दै शान्ति सुरक्षालाई मजबुद र विकास निर्माणको कार्यलाई गतिदिनुपर्नेमा जोडदिएका थिए ।
‘शासन व्यवस्था फेरियो तर जनजीविका फेरिएन’ वक्ताहरुले भने–‘तीनै तहका सरकारले जनअपेक्षा अनुसार विकासको गतिलाई बढाउनु अनिवार्य छ ।’ वक्ताहरुले जनजीविका सुधार हुने कार्यक्रम र योजना संचालन गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, प््रमुख जिल्ला अधिकारी बेदप्रसाद ढकाल, जिल्ला निर्वाचन अधिकारी विकास शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले बोल्नुभएको थियो ।
जिसस प्रमुख ढुंगानाको अध्यक्षता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुवरको स्वागत मन्तव्य र ससबहादुर पुनको सञ्चालन सम्पन्न भएको थियो ।
यसैबीच, जहानीय राणा शासन, राजतन्त्र, हुँदै संघीय गणतन्त्रसम्मको तीनवटै शासन व्यवस्थालाई आफ्नै जीवन कालमा भोग्नुभएका बागलुङ नगरपालिका–१३ पैयुपाटनाका ७८ वर्षिय खर्कबहादुर कूँवर शाहीलाई सहकर्मी नवीन शिशिरले राणा शासन कस्तो थियो भनेर सोध्नुभएको छ ः

प्रजातन्त्रप्रति प्रतिवद्ध छौ– सांसद थापा
प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले वर्तमान सरकार र संसद प्रजातन्त्रप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
प्रजातन्त्र दिवस मूल समारोह समिति म्याग्दीले ६९ औ प्रजातन्त्र दिवस तथा जिल्ला निर्वाचन कार्यालयले तेस्रो निर्वाचन दिवसको अवसरमा मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा सांसद थापाले प्रजातान्त्रिक मूल्य र मान्यता अनुरुपनै सरकार तथा संसद चलेको बताएका हुन् ।
सांसद थापाले नेपाल संघीय गणतन्त्रात्मक शाषन व्यवस्था कार्यान्वयनको चरणमा रहेकाले प्राप्त राजनितिक उपलब्धिलाई संस्थागत, व्यवहारमा रुपान्तरण र जनताको जिवनमा परिवर्तन ल्याउन सबैले आफ्नो व्यवहार र आचारणमा सुधार ल्याउनुपर्ने बताए ।
उहाँले भड्कीलो चुनावका कारण भ्रष्ट्राचार र अनियमितता बढेकाले जनताले काम, योगदान र योजना अनुसार मतदान गरेर आफूले चाहेको व्यक्तिलाई जिताउने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।
सो कार्यक्रममा सांसद थापाले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्नका लागि प्रतिनिधिसभाबाट पारित भएको केही नेपाल संसोधन ऐन राष्ट्रिय सभामा पेश भएको जानकारी दिनुभयो । पूर्व सांसद नवराज शर्मा र गोविन्द पौडेलले राजनितिक अधिकार संबिधान मार्फत पुरा भएकाले त्यसको व्यवहारिक कार्यान्वयनसँगै जनताहरु आफ्नो दायीत्वप्रती जागरुक र राज्य जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले निराशावादी प्रवृति त्याग्न र रचनात्मक तथा सकारात्मक भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्की र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जनअपेक्षा बुझेर काम गर्न सरकार तथा राज्यका संयन्त्रहरुलाई सुझाव दिएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षता, अधिकृत गोविन्द सुनारको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले स्वागतका साथै निर्वाचनको महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।
समारोहअघि जिल्ला प्रशासन कार्यालय अगाडीको चोकदेखि सुरु भएको जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मीहरु सहभागि प्रभातफेरी बजार परिक्रमा गरेर कर्मचारी मिलन केन्द्रमा पुगी सभामा परिणत भएको थियो ।
यसैबीच, ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शालग्राम उद्यानमा बृक्षारोपण गरिएको छ ।
जिल्ला समन्वय समिति मुस्ताङको आयोजना तथा राष्ट्रिय प्रजातन्त्र दिवस मुलसमारोह समितिको पहलमा शालग्राम उद्यान वरपर हरियाली गराउन बृक्षारोपण गरिएको हो ।
मुस्ताङमा कार्यरत निजाजमति कर्मचारी, स्थानीय जनप्रतिनिधि , नेपाल प्रहरी, शसस्त्र प्रहरी र पत्रकारको संयूक्त टोलिले उद्यानमा बृक्षारोपण गरेका थिए ।
शालग्राम उद्यानमा स्याउ, खुर्पानी, उखु, नासपाती लगायतका बिभिन्न फलफुलका बिरुवा लगाईएको नेपाल निजामती कर्मचारी संगठन मुस्ताङका अध्यक्ष मतिलाल चपाईले बताउनुभयो ।
फलफुलका बिरुवाहरु शितोष्ण बागवानी बिकास केन्द्र मार्फा र वारागुङ मुक्तिक्षेत्र गाउपालिकाले उपलब्ध गराएको थियो ।