दरवाङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड सुरु

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा शुक्रबारदेखि अन्तर मावि विद्यालय छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

मालिका गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको विकास मार्फत प्रदेश र राष्ट्रलाई चिनाउने तथा पर्यटनको विकास गर्ने योजना अघि सारिएको बताउनुभयो ।

मन्त्री पुनले मुस्ताङमा उच्च हिमाली खेल प्रशिक्षण केन्द्र, अन्तराष्ट्रिय स्तरको खेलमैदान र सबै स्थानीयतहहरुसँग समन्वय गरेर खेलमैदान निर्माण गर्न लागिएको जानकारी दिनुभयो । खेलकुदको विकासका लागि पूर्वाधारमा जोड दिएको मन्त्री पुनको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बेनी–दरवाङ सडकको बेनी देखि १२ किलोमिटर सडक कालोपत्रेको लागि योजना सुरु भएको र बाबियाचौर देखि दरवाङ खण्डको कालोपत्रेका लागि डिपीआर तयार पार्न लागिएको जानकारी दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मालिका गाउँपालिकामा रहेका ११ वटा विद्यालयले सहभागिता जनाएका छन् । भलिबल, एथलेटिक्स र कवड्डी बिधाका खेलमा प्रतिस्पर्धा गराइने गाउँपालिकाको शिक्षा शाखाका संयोजक तेजप्रसाद लामिछानेले बताउनुभयो ।