रेडक्रस सोसाइटी बागलुङ शाखाको २९ औं अधिवेशन सकियो

नयाँ नेतृत्व चयन गर्ने चुनावी कार्यक्रम भने स्थगित
-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५

नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको २९ औं अधिवेशन शुक्रवार सम्पन्न भएको छ ।
नयाँ नेतृत्व चयन गर्ने चुनावी अविधेशनको रुपमा तयारी गरिए पनि रेडक्रसको केन्द्रिय बिधानका बिषयमा प्रमाणीकरण लगायतका बिषयमा समस्या देखिए पछि चुनावी कार्यक्रम भने स्थगित भएको छ ।
अधिवेशनले रेडक्रस सोसाइटीका महामन्त्री नारायण पौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । अधिवेशनको उद्घाट नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका संयोजक सुर्य ढकालले गर्नुभयो ।
उद्घाटन पछि बोल्दै अब बिपत व्यवस्थापनमा नयाँ संघिय अभ्यास सँगै स्थानीय तहमा जिम्मेवारी र बजेट गएकाले स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले बिपत व्यवस्थापनका लागि स्थानीय तहले ३ प्रतिशत रकम बिनियोजन गर्नुपर्ने व्यवस्था भएकाले उक्त बजेट व्यवस्थापन सहित रेडक्रस सँग समन्वय गरेमा बिपत व्यवस्थापनमा सहजता हुने पनि बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, नेकपाका जिल्ला संयन्त्र सदस्य लालबहादुर थापा, नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्र थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल, रेडक्रसका पुर्व मन्त्री जगदिशचन्द्र उपाध्याय, रेडक्रस गण्डकी प्रदेशका सदस्य हिमाल शर्मा, पर्वत जिल्ला सभापति रुद्र रिमाल, म्याग्दी सभापति लेखबहादुर हमाल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, बागलुङ उद्योग बाणिज्य सघंका प्रथम उपाध्यक्ष राजनकुमार शाक्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा उत्कृष्ट शाखाको रुपमा सिगाना उपशाखालाई सम्मान गरिएको थियो । उपकोषाध्यक्ष जिवननाथ शर्माले युवा रेडक्रस सर्कल र जुनियर रेडक्रस सर्कलका गतिविधिका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रम जब्बरबहादुर लामिछानको अध्यक्षता, शाखा उपसभापति रामबहादुर खत्रीको स्वागत मन्तव्य, अकार्य उपसभापति राजेन्द्र आचार्यको धन्यवाद मन्तव्य र महामन्त्री नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।