श्रमजीवी पत्रकार ऐन कार्यन्वयनका लागि दबाबमूलक अभियान शुरु

पहिलो चरणमा दरबन्दी बिवरण माग सहित सबैलाई पत्राचार
-- देवी बोहरा , बागलुङ / प्रकाशित मिति : सोमवार, माघ २८, २०७५

पाल पत्रकार महासंघ बागलुङले श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यन्वयनका लागि जिल्लाका सबै सञ्चार माध्यमलाई दबाबमुलक अभियान शुरु गरेको छ ।
महासघंका अध्यक्ष दिल शिरीषले श्रमजीवी पत्रकार ऐन कार्यन्वयनका लागि पहिलो चरणमा जिल्लाका सबै सञ्चार माध्यम सँग सञ्चार, प्रविधि तथा सूचना मन्त्रालयमा पठाएको नाम, पद, पारिश्रमिक सहितको दरबन्दी बिवरण माग गरेको छ ।
धौलागरि संचार क्लब बागलुङले आयोजना गरेको साक्षात्कार कार्यक्रमको २० औ श्रृङ्खलामा बोल्दै अध्यक्ष शिरीषले सरकारले पनि बैकं स्टेटमेन्ट अनिवार्य गरेर श्रमजीवी ऐन कार्यन्वयनमा तदारुकता देखाएकाले अब पत्रकार जागरुक भए कार्यन्वयनमा सहजता हुने बताउनुभयो । महासंघले श्रमजिवी पत्रकार ऐनको कार्यन्वयनमा सहयोग र समन्वयका लागि सहजीकरण गर्न महासंघका सचिव राम थापा अविरललाई श्रमजिवी पत्रकार डेस्कको जिम्मा दिएको उहाँको भनाई छ ।
अहिले सञ्चार मन्त्रालयले सूचना तथा प्रसारण बिभागबाट उपलब्ध सेवा सुविधा र सहुलियत प्राप्त गर्नका लागि श्रमजिवी पत्रकार र कामदारको तलब भत्ता बैकंमा पठाइएको तलबी प्रतिवेदन र बैंकको समेत प्रमाणित प्रतिलिपी अनिवार्य गरेको छ भने पत्रकारले पनि सेवा सुविधा र सहुलियत प्राप्त गर्न आँफुले काम गर्ने सञ्चार प्रतिष्ठानबाट तलब पाएको सुनिश्चित गर्न बैकं स्टेटमेन्ट उपलब्ध गराउनुपर्ने, न्युनतम पारिश्रमिक सहितको नियुक्ति पत्रको प्रतिलिपी अनिवार्य बुझाउनु पर्ने व्यवस्था गरेको छ ।
सरकारले तोकेको न्युनतम पारिश्रमिक ऐन अनुसार मोफसलमा दैनिक ८ घण्टा काम गरे कम्तीमा १४ हजार ४ सय र कामदार कर्मचारीको हकमा १२ हजार ५ सय दिनुपर्ने ब्यबस्था छ । यसमा सरकारले २५ प्रतिशत बृद्धि गरेको घोषणा गरे पनि सर्वोच्चमा रिट परेकाले तत्काल बृद्धि भएको तलब नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
श्रमजिवी ऐन कार्यन्वयनका सवालमा जिल्लाका सञ्चार माध्यमलाई तत्काल आन्दोलन गरेर बन्द गर्ने भन्दा पनि व्यवस्थित, व्यवसायिक र मर्यादित रुपमा सञ्चालन गर्न अभिप्रेरित गर्ने महासंघको योजना छ । भौगोलिक रुपमा बिकट र बिबिधता सहितको जिल्ला भएकाले बागलुङ नगर र ढोरपाटन नगरपालिका बाहेक अन्य स्थानीय तहमा सञ्चार माध्यम मर्जको सम्भावना पनि व्यवहारिक नभएकाले स्थानीय सञ्चार माध्यमको सवलिकरणनै प्राथमिकतामा रहेको अध्यक्ष शिरीषको भनाई छ । यसका लागि स्थानीय बिज्ञापन स्थानीय सञ्चार माध्यममै दिन महासंघले स्थानीय सरकार र कार्यालय सँग समन्वय गरिरहेको बताउनुभयो ।
बागलुङ जिल्लामा क्रियाशील पत्रकारलाई क्षमता अभिवृद्धिको लागि अबको बाँकी एक बर्षे कार्यकाललाई महासंघले तालिम वर्षको रुपमा अघि बढाउने अध्यक्ष शिरीषले बताउनुभयो । यसका लागि अहिले काम गरिरहेका पत्रकारलाई बिषयगत तालिम र अन्य पत्रकारितामा आउनेहरुका लागि आधारभूत तालिम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
महासंघ अहिले चुनौतिपूर्ण रहेको भवन निर्माणमै केन्द्रित भएकाले अन्य गतिविधिलाई अपेक्षाकृत रुपमा अघि बढाउन नसकिए पनि अब भवन निर्माण सम्पन्न सँगै अन्य अभियानलाई पनि प्रभावकारी तबर अघि बढाउन पहल गरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । महासंघको भवनमै सबै पत्रकारले निशुल्क रुपमा सहज तबरबाट समाचार सम्प्रेषण गर्न सक्ने व्यवस्था सहित आधुनिक सूचना केन्द्र समेत निर्माण गर्ने योजना बनाएको छ ।
धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा धन्यवाद मन्तव्य क्लबका सचिव प्रदीप पन्त र संचालन क्लबका कोषाध्यक्ष कोपिला कंडेलले गर्नुभएको थियो ।