गुराँस शिक्षा सदन बागलुङको बिधिवत शुभारम्भ

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, माघ २७, २०७५

बागलुङ बजारमा सञ्चालित गुराँस शिक्षा सदनको बिधिवत उद्घाटन गरिएको छ ।

बागलुङ बजारको पेन्सन क्याम्प रोडमा सञ्चालित सदनको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले आइतवार सरस्वति पुजाका अवसर पारेर उद्घाटन गर्नुभयो । उद्घाटन पछि बोल्दै मेयर पौडेलले निजी बिद्यालयहरुले बिद्यार्थीलाई अग्रेजी भाषाको भयबाट मुक्त गरेर व्यवहारिक र जिवन उपयोगी शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

बानपा ८ मा लामो समयदेखी सञ्चालित बोडिङ स्कुललाई २०७४ सालमा बागलुङ बजारमा स्थान्तरण गरि नयाँ शैक्षिक सत्रदेखी सञ्चालनमा ल्याइएको गुराँस शिक्षा सदनका प्रिन्सिपल निशान खड्काले बताउनुभयो । कक्षा प्ले ग्रुपेखी ८ कक्षा सम्म पढाई थालिएको बिद्यालयमा पहिलो शैक्षिक सत्रमै २ सय ८५ बिद्यार्थी रहेको उहाँले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक गणेश थापा, श्रोत व्यक्ति ढकबहादुर पुन, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, नेकपाका जिल्ला संयन्त्र सदस्य लालबहादुर थापा, नेपाल बिद्यार्थी सघंका सहमहामन्त्री हरिहर शर्मा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका सभापति जब्बरबहादुर लामिछाने, नेपाली कांग्रेसका नगर सभापति तथा चिल्डेन लाइफ बोडिङ स्कुलका सञ्चालक महेन्द्र आचार्य, निलगिरी अस्पतालका अध्यक्ष डिलबहादुर कार्की, अभिभावकको तर्फबाट राजु केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा जिल्लाको निजी बिद्यालयको विकास र शैक्षिक गुणस्तर प्रदान गर्नमा तिन दशकदेखी खेलेको भुमिका र योगदानको कदर स्वरुप सिद्धार्थ शिक्षा सदनका प्रिन्सिपल बालकृष्ण केसीलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

बिद्यालयमा अध्ययनरत बिद्यार्थी तथा शिक्षकहरुले गित, नृत्य तथा खेल कौशल प्रर्दशन गरेको कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता र प्रिन्सिपल निशान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।