साक्षर नागरिक ‘नागरिक वडापत्र’बारे अनविज्ञ

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, माघ २७, २०७५

बागलुङका ५० प्रतिशत साक्षर नागरिक ‘नागरिक वडापत्र’को बारेमा अनविज्ञ प्रकट गरेका छन् ।

राष्ट्रिय सकर्तकता केन्द्रले बागलुङमा गरेको सर्भेक्षणमा सहभागी एक सय जना मध्ये ५० प्रतिशत नागरिकले वडापत्रको बारेमा वडापत्रबारे जानकारी नभएको बताएका थिए ।

एक सय जना नागरिकमा गरिएको सर्भेक्षणमा ९६ प्रतिशत साक्षर र ४ प्रतिशत निरक्षर नागरिक सहभागी भएका थिए । शिक्षित नागरिकनै वडापत्रबारे अनविज्ञ हुँदा सार्वजनिक सेवा प्रवाहमा हुने ढिला सुस्ती र राजस्व संकलनमा समस्या हुने सर्तकता केन्द्रका प्रहरी नायव उपरिक्षक अर्जुन खड्काको भनाई छ ।

नागरिक वडापत्रबारे जानकारी भएका नागरिकलाई सेवा प्राप्त गर्न लाग्ने समय र दस्तुरको विषयमा प्रश्न गर्दा ४६ प्रतिशतले अनविज्ञता प्रकट गरेका थिए । सर्भेक्षणमा सहभागीले सेवा प्रदायक संस्थाबाट सेवा प्राप्त गर्न अतिक्ति रकम दिनु नपरेकोमा ९५ प्रतिशत र दिनु परेकोमा ५ प्रतिशतले मत जाहेर गरेका थिए ।

९५ प्रतिशत सहभागीले बागलुङमा कर्मचारीको व्यवहार राम्रो भन्ने मत राखेको प्रहरी नावय उपरिक्षक खडकाले बताउनुभयो । सहभागी ५८ प्रतिशतले सेवा प्राप्त नभएको उजुरी नगरेको बताएका छन ।

सर्भेक्षणका सहभागीले कर्मचारीले सबैलाई समान र राम्रो व्यवहार गरी जनताको काम छिटो र छरितो र इमान्दारिता पूर्वक गर्नुपर्ने, स्थानीय निकायमा राजनीतिक निर्णयका आधारमा मात्र निर्णय हुने हुँदा महत्वपूर्ण निर्णय गर्दा सरोकारवाला समावेश गरिनुपर्ने सुझाव राखेका छन् ।

नागरिक वडापत्र कार्यान्वयन अनुगमनमा सहभागीबाट कर्मचारीहरुले सेवाग्राहीलाई शिष्ट व्यवहार गर्नुपर्ने र हरेक निरक्षर सेवाग्राहीलाई सेवा प्रक्रिया तथा आवश्यक कागजातको विषयमा हेल्पडेष्क राखी सेवाबारे जानकारी दिनुपर्ने, नगरपालिका क्षेत्रमा फोहोर समयमै व्यवस्थापन नगरेको भन्ने गुनासो बढी रहेको र कर्मचारीहरु तोकिएको समयमा कार्यालयमा उपस्थित हुनुपर्ने तथा तोकिएको आफ्नो कार्यकक्षमा बसी सेवा प्रवाह गर्नुपर्ने सुझाव दिएका छन् ।