खेलकुद पत्रकारिता तालिम सम्पन्न

-- बलबहादुर रोका, बागलुङ / प्रकाशित मिति : शनिबार, माघ १९, २०७५

खेलकुद पत्रकारितालाई परिस्कृत र गुणस्तरीय बनाउने उद्देश्यका साथ बागलुङमा संचालित दुई दिने खेलकुद पत्रकारिता तालिम शनिबार सम्पन्न भएको छ ।
पत्रकार महासंघ बागलुङको आयोजना तथा जिल्ला फुटबल संघ बागलुङको सहयोगमा संचालित तालिम समापनको अवसरमा बोल्दै बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्रबहादुर खडकाले दक्ष पत्रकार र व्यवसायिक पत्रकारिताको विकासमा स्थानीय तहले आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।


संचारको सहयोगले सामाजिक विकृती र विसंगतिलाई सुधार गर्दै विकास र समृद्धिको बाटोलाई अगाडी बढाउन सक्ने उहाँको भनाई थियो । ‘संचार मनोरञ्चनको साधान मात्र होईन उपमेयर खडकाले भन्नुभयो– विकासको साझेदार र पहरेदारको रुपमा पत्रकारिता विकास हुनुपर्छ ।’
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन आचार्यले पत्रकारले पत्रकारिताको धर्म निर्वाह गरे पत्रकारिताले पत्रको हित गर्ने बताउनुभएको थियो । कार्यक्रममा खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमिल्सीना, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङ्ग, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य संगम घर्ती मगर, पत्रकार महासंघका जिल्ला सदस्य सृजना पन्त, पत्रकार कमल पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षता, सहसचिव नवीन शिशिर विकको स्वागत र सचिव राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो । दुईसम्म संचालन भएको तालिममा जिल्लाबाट प्रकाशन तथा प्रशारण हुने रेडियो, टेलिभिजन, पत्रत्रिकामा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।