कोरिडोरलाई आर्थिक ट्रान्जिटको रुपमा विकास गर्छौ ः मन्त्री ज्ञवाली

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, माघ १९, २०७५

नेपाललाई चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बागलुङ–गुल्मी खण्डलाई चौडा बनाउन थालिएको छ ।
गत बर्ष ट्रयाक खुलेको कोरिडोरलाई चौडा बनाउन अर्थ मन्त्रालयले यस बर्ष बागलुङ खण्डका लागि १० करोड र गुल्मी खण्डका लागि १० करोड बजेट बिनियोजन गरे पछि काम सुरु गरिएको हो ।
नेपाली सेनाले जिम्मा लिएको करिडोर चौडा बनाउने कार्यको शनिवार परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र अर्थमन्त्री डा.युवराज खतिवडाले संयुक्त रुपमा शिलन्यास गर्नुभयो । शिलन्यास पछि परराष्ट्रमन्त्री ज्ञवालीले कालीगण्डकी करिडोरलाई आर्थिक ट्रान्जिट रुपमा विकास गरिने उद्घोष गर्नुभयो । कोरिडोर संसारका सबैभन्दा ठुला अर्थतन्त्रलाई जोड्ने महत्वपुर्ण ट्रान्जिट बन्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सरकारले बिशेष प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभयो ।

नेपाललाई छिमेकी मुलुक चिन र भारत गरी दुई देश जोड्ने राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको कोरिडोर मुलुकको आर्थिक बिकासमा कोशेढुङ्गा बन्ने मन्त्री ज्ञवालीको भनाई थियो ।
ज्ञवालीले ४ बर्ष अघि मुस्ताङमा युरेनियमको सम्भावनाको खोजी गरेको भन्दैै यही क्षेत्रको आसपासमा भएका खनिज लगायतका थुप्रै सम्भावनालाई पहिचान गर्दै जाने बताउनुभयो । २०७० सालबाट करिडोरको जिम्मा नेपाली सेनालाई दिएपछि बाह्रै महिना सवारी साधन चल्न सक्ने गरी तिब्र गतिमा काम गरिरहेकाले स्तरोन्नतीको कामलाई पनि प्रभावकारी रुपमा सम्पन्न गर्ने बताउनुभयो ।
गत बर्ष ट्रयाक खुलेको करिडोरलाई अर्थ मन्त्रालयले यस बर्ष बागलुङ खण्डका लागि १० करोड र गुल्मी खण्डका लागि १० करोड बजेट बिनियोजन गरी काम सुरु गरेको हो । बलेवा बिमानस्थल सम्मको सडक चौडा भएपछि सडक विभागलाई हस्तान्तरण गरी कालोपत्रेको काम अगाडी बढाउने योजना बनाइएको छ । सोही अवसरमा अर्थमन्त्री युवराज खतिवडाले आगामी बर्ष कोरला नाकामा पुर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यस आर्थिक बर्षमा गुल्मीको रुद्रवेणी, अर्वेणी खण्डको २१ किलोमिटर र बागलुङको मालढुंगा–बलेवा खण्डको १० किलोमिटर सडक १० मिटर चौडा गर्ने काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यस्तै आगामी आर्थिक बर्षमा रुद्रवेणी–हर्मीचौर खण्ड १५ किलोेमिटर र मालुढंगा–बलेवा १० किलोमिटरको काम सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने योजना रहेको नेपाली सेनाको निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले बताउनुभयो । जटिल भौगोलिक अवस्थाका कारण ठुला ठुला पहिरो आएर काम गर्न बाधा पर्ने, विभिन्न ठाउँमा अनुमान गरिएको भन्दा जटिल प्रकृतिका चट्टानहरु हुँदा अनुमानित लागतमा काम सम्पन्न गर्न असहज भएको बताउनुभयो ।
यसअघि गुल्मीको रिडी–पालुङखोला खण्डको ४२ किलोमिटर र बागलुङको पालुङखोला–मालढुंगा खण्ड सम्मको ३८ किलोमिटर सडक ८ मिटर चौडा गर्ने काम भएको थियो । नेपाली सेनाले २०६४ सालमा करिडोरको बागलुङ–बेनी–जोमसोम खण्डको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको थियो ।

गुल्मी र बागलुङ खण्डको ८० किलोमिटर सडक निर्माण सम्पन्न भएपछि अहिले रिडीदेखी जोमसोमसम्मको १ सय ७४ किलोमिटर सडकमा यातायात सञ्चालन भैरहेको छ । नेपालको चीनसँग जोडिएको कोरल्ला नाका र भारतको सुनौली नाका जोडिने यस सडकले दुई देशबीच आर्थिक तथा धार्मिक गतिविधिमा थप मद्धत पुग्ने रणनीतिक सडकको रुपमा लिइएको छ ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्मा, सांसद देबेन्द्र पौडेल, मनकुमारी केसी, पुर्व सांसद प्रकाश पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलको अध्यक्षता, सांसद डाक्टर सुर्य पाठकको स्वागत र जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी धीरेन्द्र पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।