तेस्रो गरिमा च्याम्पियनसिप क्रिकेट हुने

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५

गरिमा च्याम्पियनसिप ट्रफी अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको तेस्रो श्रृङखला माघ २६ देखि हुने भएको छ ।
गरिमा (डिग्नीटी) आवासीय माध्यमिक विद्यालय तथा डिग्नीटी कलेज बागलुङले गर्दै आएको प्रतियोगिता माघ २६ देखि फागुन ३ गतेसम्म बाङ्गेचौर खेलमैदानमा आयोजना गरिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
बागलुङ, पर्वत र म्याग्दीका विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाउने गरिमा आवासिय माविका प्रिन्सिपल श्यामप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार प्रतियोगितामा प्रत्येक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागीता रहने छ ।
विद्यालयहरुले आफ्नो टिममा बागलुङ, पर्वत र म्याग्दीका २ जना बाहिरी विद्यार्थीहरुलाई टिममा सहभागी गराउन सक्ने प्रिन्सीपल शर्माको भनाई छ । प्रतियोगीतामा गत वर्ष १८ विद्यालयहरुले सहभागिता जनाएका थिए । यस वर्ष ३ जिल्लाका २० विद्यालयहरुले सहभागिता जनाउने संयोजक गणेशप्रसाद शर्माले जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सियलको नियमअनुसार खेलाइने उक्त प्रतियोगितामा एल.बी.डब्लयुको नियम लागु नगरिने आयोजकले जनाएको छ । प्रतियोगिता संचालनको लागि करिब २ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ३० हजार रुपैयाँ र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।