आर्थिक संकट बेहोर्दै कृष्णगण्डकी क्याम्पस

–नौ महिनादेखि लेक्चरको तलव रोक्का
-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा संचालित कृष्णगण्डकी क्याम्पस आर्थिक संकटमा परेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त क्याम्पसमा न्युन विद्यार्थी संख्या, स्थानीय तह र विश्वद्यिालयबाट कुनै पनि आर्थिक सहयोग प्राप्त नहुँदा समस्यामा परेको हो ।
विगतमा साविकको गाविसबाट प्राप्त हुने आर्थिक सहयोग समेत रोकिदाँ यस वर्ष कार्यरत शिक्षकलाई तलब उपलब्ध गराउन समेत समस्या भएको क्याम्पस प्रमुख दिपेन्द्र खडकाले जानकारी दिनुभयो ।
एक जना पूर्णकालीन र ६ जना आंशिक जनशक्ति रहेको क्याम्पसमा कार्यरत शिक्षक (लेक्चर) ले विगत ९ महिनादेखि तलब भत्ता नपाएको क्याम्पस प्रमुख खडकाको भनाई छ । ‘शिक्षकलाई पारिश्रमिक समेत प्रदान गर्न नसक्ने अवस्था छ’ क्याम्पस प्रमुख खडकाले भन्नुभयो–‘यस्तो संकटबाट कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ ।’
विगतमा स्थानीय निकायबाट क्याम्पसलाई वार्षिक ४÷५ लाख रुपैयाँ आर्थिक सहयोग भए पनि संघीय संरचनामा भए पछि वडास्तरबाट प्राप्त आर्थिक सहयोग रोकिएको उहाँले बताउनुभयो ।
विविएस चार वर्षे कोर्ष संचालन भएको सो क्याम्पसमा ६५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । क्याम्पसको प्रशासनीक खर्च तथा पारिश्रमिक गरी मासिक एक लाख ३० हजार खर्च हुने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कमल जिसीले बताउनुभयो ।
सामुदायिक क्याम्पसको आर्थिक स्रोत भनेको विद्यार्थी र राज्यले प्रदान गर्ने अनुदान हो अध्यक्ष जिसीले भन्नुभयोे–‘राज्यको स्रोत रोकियो, विद्यार्थी संख्या कम छ कसरी क्याम्पस चल्छ ।’ स्थानीय गणेश माध्यमिक विद्यालयको भवनबाट संचालन भएको क्याम्पसको आफ्नो भौतिक संरचना छैन ।
हालैमात्र स्थानीयको सहयोगमा चार रोपनी जग्गा क्याम्पस निर्माणको लागि प्रााप्त भएको अध्यक्ष जिसीले जानकारी दिनुभयो । अझै चार रोपनी जग्गा प्राप्त गरे पछि भौतिक संरचना निर्माणको काम सुरु गर्ने बताइएको छ ।
क्याम्पस आर्थिक संकटमा परे पछि करिब एक करोडका अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानले माघ २६ देखि फागुन १२ गतेसम्म बलेवा महोत्सवको आयोजना गरेको छ ।
क्याम्पस अत्यन्त नाजुक अवस्थामा पुगेको प्रष्ठिानका अध्यक्ष भरत पौडेलले भन्नुभयोे–‘गाउँमा बढो दुःखका साथ स्थापना भएको शैक्षिक संस्थालाई पुर्नजीवन प्रदान गर्न उद्देश्यले महोत्सव आयोजना गरेको हो ।’