बागलुङको बलेवामा “प्रथम बलेवा महोत्सव” हुने

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५

बागलुङको नारायणस्थानमा ‘प्रथम बलेवा महोत्सव’ हुने भएको छ ।
बलेवाका क्षेत्रको पर्यटकीय प्रवद्र्धन तथा प्रचार प्रसार र शैक्षिक विकासमा लगानी वृद्धि गर्ने लक्ष्यले माघ २६ देखि फाल्गुन १२ गतेसम्म प्रथम बलेवा महोत्सव आयोजना गरिएको हो ।
नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानको अगुवाईमा बलेवाका सबै क्षेत्रको पहिचान झल्कने गरी महोत्सव आयोजना गरिएको बुधबार बागलुङमा आयोजित पत्रकारसम्मेलन मार्फत प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले जानकारी दिनुभयो । बलेवामा रहेको कृष्ण गण्डकी क्याम्पसमा अक्षयकोष स्थापना गरी शैक्षिक क्षेत्रको बिकास गर्ने लक्ष्यले महोत्सवमा आयोजना गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
चौबिसे राजाको पालादेखि बलेवाको अस्तित्व रहेकोले तत्कालिन महत्वका बस्तुको बिस्तार र प्रचार गर्ने, बलेवामै रहेका भैरवस्थान, एयरपोर्ट लगायतको प्रवद्र्धनका लागि पनि महोत्सव उपयोगी हुने बताइएको छ । महोत्सवकै अवसर पारेर बलेवा जाने गरी बनेका अग्ला झोलुंगे पुल, यन्त्रिक पुल र निर्माणाधिन बञ्जीजम्पको प्रचार प्रसार समेत हुने महोत्सव उपसंयोजक कमलकुमार जिसीले बताउनुभयो ।
बलेवामा उत्पादन हुने कृषि बस्तुको बजारीकरण, अन्य घरेलु उद्योगहरुको बिकास तथा बस्तुहरुको बजार खोज्ने काममा पनि महोत्सव उपयोगी हुने विश्वास रहेको छ । बिहिवार जिल्लाका क्रियाशिल राजनीतिक दलका अगुवा, प्रतिष्ठान, वडाअध्यक्षहरु समेतको सहभागितामा पत्रकार सम्मेलन गरिएको थियो ।
कार्यक्रममा पूर्वसांसद प्रकाश शर्मा पौडेलले बलेवा क्षेत्रको समृद्धि र विकासको लागि जिल्लावासीले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा बानपा १३ का अध्यक्ष नारायण शर्मा, बानपा १४ का अध्यक्ष चक्रबहादुर खत्री, कृष्णगण्डकी क्याम्पसका अध्यक्ष कमलकुमार जिसी लगायतले बोल्नुभएको थियो ।
महोत्सवमा खुल्ला पुरुष भलिबल, रत्यौली, म्याराथुन दौड, विद्यालयस्तरीय खुल्ला नृत्य, लोकदोहोरी, प्रतियोगीता, कवि पत्रकार सम्मेलन लगायतका प्रतियोगीता आयोजना गरिएको छ । कार्यक्रम महोत्सव मुल आयोजक समितिका संयोजक भरत पौडेलको अध्यक्षता, कमलकुमार जिसीको स्वागत नारायण श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।