मकै र तरकारीको पकेट क्षेत्र संचालन गर्ने

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, माघ १६, २०७५

बागलुङको बडिगाड गाउँपालिकाको चौथो कार्यपालिकाको बैठकले कृषि उत्पादनलाई जोडदिँदै सम्पन्न भएको छ ।
गाउँ कार्यपालिकाको ४३ औँं वैठक मैकै र तरकारी उत्पादनको प्रोत्साहन गर्न पकेट क्षेत्र तोकेर कृषि उत्पादनका कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।
बैठकले गाउँपालिका वडा नं. १, ३, ४ र ८ वडालाई मकै पकेट तथा वडा २, ५, ६ र ७ लाई तरकारी पकेट क्षेत्र तोकेर विशेष कार्यक्रम संचालन गर्ने निर्णय गरेको संचार संयोजक कमल पौडेलले जानकारी दिनुभयो ।
वैठकले पशु तथा कृषिको कार्यक्रम संचालनको लागि वार्षिक प्रस्तावित प्रतिवेदन स्वीकृत गरेको छ । बैठकले मुस्लिम, महिला तथा बालबालिका लक्षित कार्यक्रमको प्रस्ताव स्वीकृत गर्ने, बडिगाडका गौरवका सम्भावित योजना छनौटको लागि वडाहरुमा बहस चलाउने, विभिन्न योजनाहरुको शिर्षकान्तर गर्ने लगायतको निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिनुभयो ।
हिम वर्षाको कारण भएको विद्युतिय क्षतिको पूर्तिको लागि प्रदेश तथा संघमा सहयोग माग गर्ने निर्णय गरेको छ । शुक्रवार राति देखि परेको हिमवर्षाले बडिगाड गाउँपालिकामा झण्डै ३ करोड वढिको क्षतिभएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाई छ ।
हिमवर्षाले बडिगाड गाउँपालिकाको वडा नं. ४, ५, ८, ९ र १० वडामा वढि क्षति भएको छ । हिमपातले विद्युत अवरुद्ध भए संगै वडिगाड गाउँपालिका वडा नं. ४ को जलजला, वडा नं. ५ को सिमाक, वडा नं. ८ रणसिंह किटेनी, वडा नं. १० दर्लिङमा संचार सम्पर्क विच्छेद भएको छ ।
हिमपातले सय किलोवाट क्षमताको चाचलघाट लघुजलविद्युत आयोजना जलजला, र ४३ किलोवाट दर्लिङखोला लघु जलविद्युत परियोजना दर्लिङको पोल र तार पूर्ण क्षति गरेको छ ।