आफ्नै भाईलेमात्रै सम्झे शहिदलाई

साथै बागलुङ ६९ औँ सहिद दिवस मनाइयो
-- रासस / प्रकाशित मिति : बुधबार, माघ १६, २०७५

माघ १६ गते राष्ट्रिय शहीद दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर पर्वतमा भने शहीद दिवसका अवसरमा कुनै पनि कार्यक्रम हुन सकेन ।
गत वर्षसम्म यस दिन कुनै न कुनै सघ संस्थाले कार्यक्रम गरेर सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेको २०६२÷०६३ को जनआन्दोलनमा धौलागिरि अञ्चलबाट शहादत प्राप्त गरेका एकमात्र शहीद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गर्दै मनाउँथे ।
तर यस वर्ष भने कुनै पनि सरकारी तथा सामाजिक सङ्घसंस्थाले कार्यक्रम नगरेपछि शहीद गोविन्दनाथ शर्माका भाइ देव शर्मा पौडेलले माल्यार्पण गरी आफ्ना दाजुको सम्झना गर्नुभयो । ‘कुनै न कुनै सङ्घसंस्थाले त शहीदको योगदानलाई स्मरण गर्लान नि भन्ने लागेको थियो तर बिहान ११ बजेसम्म पनि कसैले केही कार्यक्रम नगरेपछि आफू एक्लै गएर शहीदलाई सम्झिएको हुँ’, उहाँले भन्नुभयोे ।
उनले शहीद शर्माको शालिकमा माल्यार्पण गर्दै स्मरण गरे । शहीद दिवसका दिन गरिएको बिदा कटौतीले वास्तविक शहीदप्रति अपमान भएको पौडेलले बताउनुभयो । शहीद गोविन्दनाथ शर्मालाई २०६३ वैशाख ८ गते कुश्माबजारमै आन्दोलनका क्रममा गोली लागेको थियो । उपचारका क्रममा उहाँको वैशाख १२ गते निधन भएको थियो ।
यस वर्ष सङ्घीय सरकार र प्रदेश सरकारले शहीद दिवस मनाउनका लागि कुनै परिपत्र नगरेका कारण पर्वतका कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएको सरकारी अधिकारीले बताउनुभयो ।
साथै बागलुङ ६९ औँ सहिद दिवस मनाइयो
देश र जनताको हित तथा अधिकारका लागि जीवन त्याग गर्ने शहिदको स्मरण गर्दै बागलुङमा ६९ औँ सहिद दिवस मनाइएको छ ।
बागलुङ नगर कार्यपालिकाको कार्यालय बागलुङले दिवसको अवसरमा ¥याली सहित बानपा– १ मा रहेको शहिद पार्कमा मुल समारोहको गरिएको थियो ।
सो अवसरमा बागलुङ नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुरेन्द्रबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल लगायत पार्टीका नेता विभिन्न संघ संस्थाका प्रतिनीधिहरुले शहिदको सालिकमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख खड्काले देशमा शान्ति स्थापना, विकास र समृद्धि तथा राष्ट्रप्रेमलाई बचाउन सकेमात्र शहिदको सम्मान हुने बताउनुभयो । शहिदहरुले प्रदान गरेको मार्ग दर्शनलाई कार्यक्रम र ब्यवहारिक बनाउन सके मात्र वास्तविक सम्मानको अर्थ हुने उहाँको भनाई थियो ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहिद दिवस मनाइँदै आएको छ ।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, नेकपाका नेता कृष्ण पाठक, नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र थापा, धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछाने, ब्रहमाकुमारी विश्व विद्यालयकी सञ्चालिका साबित्री, गणेश माध्यामिक विद्यालयका छात्र अशोक पौडेल, न्यू ओयसिस एकेडेमीकी छात्रा मञ्जु सापकोटा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम नगर उपप्रमुख खड्काको अध्यक्षता, बानपा–९ का वडा अध्यक्ष गणेश थापाको स्वागत र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।