बजारमै सडक हिलाम्य हुँदा सकस

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, माघ १५, २०७५

साविकको धौलागिरी अञ्चल सदरमुकाम रहेको बागलुङ बजारमा अझै पनि ढल व्यवस्थित नहुँदा सडक हिलाम्य देखिने गरेका छन् ।
बजारको पुरानो नेपाल बैंक रोड, क्याम्पस चोक, हल्लनचोक, देउराली चोक लगायतका सडक हिलाम्य भएका हुन् ।
गत शुक्रवार र आइतवार परेको आंशिक बर्षा र ढलको उपर्युक्त निकास नहुँदा यी टोलमा यस्तो समस्या दोहोरिने गरेको छ । बर्षा बाहेक अन्य समयमा पनि ढल व्यवस्थित नहुँदा सडकबाटै ढल बग्ने गरेको छ । धौलागिरीकै सबै भन्दा पुरानो बिद्यालयको प्रवेशद्धार अघि र आसपासकै सडक हिलाम्य भए पछि विद्यार्थीहरुलाई निकै सकस भइरहेको विद्यार्थी ओमकार थापाले बताउनुभयो ।
टोलमा ठुला साहुमहाजन, उद्योगी व्यवसायीको बस्ती भए पनि टोलको विकासमा टोलका बासिन्दाले समय र ध्यान नदिदाँ नालीको पानी सडकमा आएर बाह्रैमास समस्या देखिने गरेको स्थानीय सुवास राजभण्डारीले बताउनुभयो । ‘नगरपालिकाले मुख्य शहर भित्रै यस्तो अवस्था हुँदा यस बिषयमा ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयोे, ‘यसका साथै टोलका बासिन्दा पनि व्यवस्थित ढलका लागि गम्भिर नदेखिएको अवस्था छ, सबैले समय दिन मान्दैनन् ।’
नगरपालिकाको वडा नम्बर ३ ले बजारमा अधिक समस्या देखिएको पुरानो बैकं रोडको ढल व्यवस्थित गर्न चालु आर्थिक बर्षमा ७ बजेट बिनियोजन गरेको छ । उक्त बजेटबाट काम शुरु गर्न स्थानीयबासीले आवश्यक चासो र समय नदिदाँ समस्या भइरहेको बानपा ३ का वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले बताउनुभयो । ‘नगर भित्रै धेरै यात्रु र बिद्यार्थी आवत जावत गर्ने सडकमा ढल बगेको दृश्यबारे मलाई राम्रो सँग जानकारी छ,’ अध्यक्ष बास्काटोले भन्नुभयो, ‘टोलबासी यसका लागि अग्रसर नहुँदा बढी समस्या देखिएको हो, स्थानीय बिच एकमत नहुँदा र प्रयाप्त समय नदिदाँ ढल निर्माणको काम अघि बढ्न नसकेको हो ।’
वडा कार्यालयले माघ मसान्त सम्म पनि ढल निर्माणको काम शुरु नभए बजेट फ्रिज जाने बताएको छ । अहिले निर्धारित समयमै ढल निर्माण गरे आगामी बर्षदेखी सडक कालोपत्रेको योजना अघि सार्ने तयारी नगरपालिकाको छ । तर, ढल निर्माण गर्नै ढिलाई भए पछि अन्य योजना पनि प्रभावित हुँदै आएको छ ।