एक दिवसीय क्रिकेट श्रृंखलामा रचियो इतिहास

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : सोमवार, माघ १४, २०७५

युएई विरुद्धको तीन एक दिवसीय क्रिकेटको श्रृंखला नेपालले २—१ ले जित्दै इतिहास रचेको छ ।

यूएईविरुद्ध २५५ रनको लक्ष्य पछ्याएको नेपाल ६ विकेट गुमाउँदै ४४ दशमलब ४ ओभरमा लक्ष्य भेट्टाएको हो ।

पहिले खेल हारेको नेपालले लगातार २ खेल जित्दै सिरिज हात पारेको हो । आईसीसीले ४ वर्षका लागि एक दिवसीय क्रिकेटको मान्यता दिएपछि दोस्रो सिरिज खेलेको नेपालले पहिलो उपाधि हात पार्न सफल भयो ।

२०१८ को अगष्टमा नेदरल्याण्ड्स सँग सिरिज बराबरी गरेको नेपालले यूएईलाई उसकै मैदानमा तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित निकाल्दै सिरिज जीतेको हो ।

नेपाललाई ऐतिहासिक सिरिज दिलाउन पारस खड्काले कप्तानी पारी खेल्नुभएको छ । उहाँले शतक सहित ११५ रन बनाउनुभएको थियो ।

ओपनर ब्याट्सम्यान विनोद भण्डारी आउट भएपछि क्रिजमा आएका कप्तान खड्काले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, रोहित पौडेल र आरिफ शेखसँग गतिलो साझेदारी गर्दै शतक बनाउनुभएको थियो । आईसीसीले मान्यता दिएपछि पारसले पहिलो शतक बनाउनुभएको हो ।

नेपालका लागि सोमबार खेल जिताउन उपकप्तान ज्ञानेन्द्र मल्लले पनि उत्कृष्ट पारी खेल्नुभयो । ३५ बलको सामना गरेका मल्लले ४ चौकाको मद्दतले ३१ रन बनाउनुभयो । मल्ल आउट भएपछि मैदान आएका दीपेन्द्रसिंह ऐरी भने सोमबार पनि चल्न सक्नुभएन । उहाँ १५ बल खेल्दै ६ रन बनाएर पेभेलियन फर्किनुभएको थियो ।

सोमबार मात्रै राष्ट्रिय टिममा डेब्यु गरेका युवा खेलाडी सन्दीप जोराले १९ रन बनाउनुभयो । २० बल सामना गरेका उहाँले तेस्रो बलमै छक्का प्रहार गरेर यूएईका बलरमाथि दबाब बढाए पनि जोराले एउटा चौका प्रहार गर्दै लगातार एक दुई रनमा स्ट्राइक रोटेट गर्नुभएको थियो ।