प्रहरीको निर्घात कुटपिटका घाइतेका परिवार न्याय माग्दै

ध्यानाकर्षणका लागि गृहमन्त्री बादललाई समेत ज्ञापन पत्र पठाइयो
-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, माघ ११, २०७५

बागलुङ गल्कोटका एक युवा माथि भएको निर्घात कुटपिटमा सम्लग्नलाई कारवाही र क्षतिपुर्ति सहित पीडितलाई न्यायको माग गर्दै स्थानीय बासिन्दा सदरमुकाम आएका छन् ।
पुस २९ गते राति सामान्य बिषयमा बिवाद हुँदा गल्कोट नगरपालिका–६ बस्ने सोमबहादुर बस्नेतलार्ई प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र ३० वर्षीय बुद्ध थापाले अनुचित शव्द बोलेको भन्दै निर्घात कुटपिट गरेका थिए ।
कुटपिट पछि बस्नेतको कलेजोको फियो फुटेको छ । घटना लगत्तै स्थानीय बासिन्दाले तिलक उप्रेतिको अध्यक्षतामा गठन गरेको दबाव समूह, घाइते बस्नेतकी श्रीमति कृष्णकुमारी सहितको टोली सदरमुकाम आएको हो । उक्त टोलीले शुक्रवार जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा शुक्रबार दबाव समूहका संयोजक तिलक उप्रेतीलले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई ज्ञापन पत्र बुझाउनुभएको थियो ।

ज्ञापन पत्रमार्फत घटनामा संलग्न प्रहरीलाई आवश्यक कार्बाही गरी घाईतेलाई उचित क्षतिपूर्तिको माग गरिएको छ । ज्ञापन पत्र बुझदै प्रजिअ खरेलले घटनाप्रति दुख व्यक्त गर्दै दोषीलाई अनुसन्धान गरी कानूनी कार्बाही गरिने बताउनुभयो ।

घटना पछि विभागीय कारवाही स्वरुप दुवै प्रहरी जवानलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दिपक रेग्मीले बताउनुभयो ।

ड्युटीमा खटिएको प्रहरीले सर्वसाधारणको सुरक्षा गर्नुपर्ने ठाउँमा सामान्य विषयमा अनुचित क्रियाकलाप गरेको पाइएपछि कारवाही गरिएको रेग्मीले बताउनुभयो । दुवै जवानलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । घाइते बस्नेतको फेवासिटी अस्पताल पोखरामा उपचार भइरहेको छ ।