सडकमै सवारी चालकको स्वास्थ्य जाँच

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : बिहिबार, माघ १०, २०७५

म्याग्दीका सवारी चालकको बिहीबार सडकमै स्वास्थ्य परीक्षण गरिएको छ ।

उनीहरुको रक्तचाप (प्रेसर) र आँखाको परीक्षण गरिएको चिकित्सकले जनाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा दुर्घटना न्युनीकरणमा सघाउ र्पुयाउने उद्देश्यले बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा चालकको स्वास्थ्य परीक्षण गरिएको हो।

स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले बताउनुभयो । बेनी गलेश्वर सडकको जलेश्वरमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षणका क्रममा ७५ जना चालकको आँखा र प्रेसरको परीक्षण गरिएको कार्यालयका बैकुण्ठ पौडेलले बताउनुभयो । ७ जनामा रक्तचाप र २ जनामा न्यून दृष्टिको समस्या भएको चिकित्सक टोलीले जानकारी दिएको छ ।

समस्या देखिएकालाई औषधि खान र अन्यलाई नियमित व्यायाम गर्न चिकित्सकले सुझाव दिएका छन्। दैनिक खानपानमा पनि ध्यान दिन चालकलाई स्वास्थ्यकर्मीको सुझाव छ ।