बिद्युत सर्ट हुँदा दुई परिवार घर बास बिहिन

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, माघ ७, २०७५

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा बिद्युत सर्ट भई आगलागी हुँदा दुई घर परिवार घरबास बिहिन भएका छन् ।

निसीखोला गाउँपालिका–२ बायखोलामा सोमबार विद्युत सट भई आगलागी हुँदा स्थानीय डिलबहादुर परियार र तमबहादुर परियारको घर जलेको हो ।

आगलागीबाट घरमा भएको अन्नपात, लत्ता कपडा, भाँडाकुँडा समेत जलेर नष्ट भएको निसीखोला गाउँपालिका–२ का वडा अध्यक्ष कुबिर विकले जानकारी दिनुभयो । दुई घर जलेर नष्ट हुँदा करिब १५ लाख भन्दा बढीको क्षति भएको अध्यक्ष विकले बताउनुभयो । घर जले पछि दुवै पीडित परियार परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।

बिपन्न दलित परिवारका दुवैको घर जले पछि अब कहाँ बस्ने र के खाने भन्ने चिन्ता थपिएको पीडित तमबहादुर परियारले बताउनुभयो । उहाँले सबैलाई सहयोगका लागि अपिल समेत गर्नुभयो ।

पीडित परिवारलाई गाउँपालिकाले तात्कालिक राहत उपलब्ध गराउने तयारी भइरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।