तिव्र गतिले लियो सात जनाको ज्यान

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, माघ ४, २०७५

बागलुङ र पर्वतको सिमाना मालढुगां नजिकै बिहिवार यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ ।

म्याग्दीको बेनी बजारबाट नारायणगढ तर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै र अन्य चार जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

घटनास्थलमै मृत्यु हुनेमा म्याग्दी पाखापानी २ का बर्ष २१ का राजेश पुन, पर्वत जलजला गाउँपालिका ७ का बर्ष ५५ की अमिसरा पुन र भरत महानगरपालिका ८ का ४१ बर्षिय सुब्बे परियारको मृत्यु भएको हो ।

धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा पर्वत जलजला गाउँपालिका ७ का २० बर्षिय जिवन बिक, जलजला ८ का बर्ष ५० की टिका परियार, उनकी श्रीमति बर्ष ४० की सेति परियार, बागलुङ नगरपालिका ४ कुँडुलेकी बर्ष ४८ की शान्ति केसी रहेकी छिन् ।

दुर्घटनामा गम्भिर घाइते भएका बिभिन्न स्थानका ९ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । २१ जनाको पोखराका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बस सडकबाट करिब १ सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ । तिव्र गतिका कारण दुर्घटना भएको यात्रुहरुले बताएका छन् । ‘विहान ८ बजिसकेको थियो, गाडीको गति निकै तिव्र थियो, यात्रुहरुले ठिक्क चलाउनुस् भनेर पनि आग्रह गरिरहेका थिए, बस दुर्घटनामा घाइते म्याग्दी बेनी नगरपालिका ७ बस्ने बर्ष ६८ का टेकबहादुर पुनले भन्नुभयो, ‘अब ढिला हुन्छ, केही समय ढिलो भयो भने उता पोखरा–बागलुङ राजमार्ग बन्द हुन्छ, त्यसैले छिटो हाँकेको हो, केही हुन्न भने ।’ त्यसको केही समयमै बस दुर्घटनामा परेको पुनले बताउनुभयो ।
अघिल्लो महिना देखी पोखरा–बागलुङ राजमार्गको स्तरोन्नतिका लागि विहान १० बजेदेखी अपरान्ह ४ बजे सम्म सडक बन्द हुन्छ । सडक बन्द हुने भएकाले १० बजे अगावै अवरुद्ध हुने खण्ड पार गर्ने गरि सवारी हाँक्दा दुर्घटना परेको यात्रुको भनाई छ । सडक बन्द हुने र दिनभर जाममा पर्ने तिव्र दबावका कारण छिटो गाडी चलाउदा दुर्घटना भएको पाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शुक्रबहादुर बिकले बताउनुभयो । ‘दुर्घटनाग्रस्त गाडीका स्टाफ र यात्रुहरु सँग बुझ्दा सडक बन्द हुने समय र तिव्र गति नै पाइएको छ,’ बिकले भन्नुभयो, ‘छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ भन्ने भनाईलाई चालक र यात्रु सबैले मनन गर्नु आवश्यक छ ।’

प्रहरीका अनुसार, थप उपचारका लागि काठमाण्डौ लगिएकोमा कालिकोट महावल गाउँपालिका ४ का ५२ बर्षिय रजबहादुर सिहं, म्याग्दी जिल्ला बेनी नगरपालिका ७ का ६४ बर्षिय तेजनाथ पौडेल, उहाँकी श्रीमति ५७ बर्षिय मन्दिरा पौडेल, बेनी नगरपालिका ८ का ३० बर्षिय लक्ष्मीप्रसाद बिक, तिपेन्द्र बिक, पर्वत जलजला ८ का ९ की प्रवेशिका पौडेल, बर्ष ७ को प्रमाण पौडेल, चितवन लगंपुरका ४५ बर्षिय रोहिदी प्रसाद चापागाई, पर्वत जलजला ८ बस्ने बर्ष ४२ का कृष्ण पौडेल रहेका छन् । अन्य २० जनालाई एम्बुलेन्स, ट्याक्सी र जिप मार्फत पोखरा लगिएको छ । दुर्घटनामा हाम फालेर ज्यान जोगाएका सह–चालकको मात्र धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कास्की अन्नपुर्ण गाउँपालिका ४ बस्ने बर्ष २८ कि चन्द्रा आचार्य, बर्ष ३ का शंकर पौडेल, पर्वत कुश्मा नगरपालिका ९ का ३५ बर्षिय रमेश पराजुली, बेनी नगरपालिका ७ का ५६ बर्षिया हेमकला रेग्मी, कालिकोट जिल्ला महावल गाउँपालिका ४ बस्ने बर्ष ५२ को राज बहादुर सिंह, पर्वत जलजला गाउँपालिका ८ बस्ने बर्ष १३ को बिक्रम रेग्मी, सोही स्थानकाा ३१ बर्षिय कमला रेग्मी, कुशल रेग्मी, कास्की पोखरा ३३ बस्ने बर्ष ४० कि लक्ष्मी बोहरा, बर्ष ११ कि दिपिका बोहरा, म्याग्दी बेनी नगरपालिका ८ बस्ने बर्ष ६३ को लक्ष्मी प्रसाद बिक, चितवन मुहान बस्ने बर्ष ९ कि प्रवेशिका पौडेल, पर्वत जलजला ७ बस्ने बर्ष ५२ को उद्बिर तिलिजा, चितवन लङपुर बस्ने बर्ष ४५ को रोहीडी प्रसाद चापागाई, म्याग्दी बेनी नगरपालिका ७ बस्ने बर्ष ६८ को टेक बहादुर पुन घाइते हुनुभएको छ ।

यसैगरी, बेनी नगरपालिका ७ कि बर्ष ६३ कि सुन्दरी पौडेल, पर्वत जलजला ७ बस्ने बर्ष २२ को कमल पौडेल, बालकृष्ण पौडेल, चितवन भरतपुर महानगरपालिका ४ बस्ने बर्ष ५६ कि पुर्णकला बस्नेत, पर्वतका ४१ बर्षिय राजन सापकोटा, धादिङका बर्ष ५५ का मानबहादुर गुरूङ, पर्वत जलजला ८ का २७ बर्षिय देवीलाल नेपाली, २७ बर्षिय दिपक परियार, ४२ बर्षिय कृष्ण पौडेल, जलजला ५ की ३५ बर्षिय तुलसी सुवेदी, बागलुङ जैमिनी नगरपालिका ४ का १६ बर्षिय अमिर क्षेत्री र चितवनका लक्ष्मी पौडेल रहनु भएको छ । उनीहरु सबैको पोखराका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।