माघे (मकर) सङ्क्रान्ति मनाइँया

परम्परागत माघे (मकर) संक्रान्ति पर्व मंगलबार हर्षोल्लासपूर्वक मनाइएको छ ।
-- धौलागिरी एफएम / प्रकाशित मिति : बुधबार, माघ २, २०७५

परम्परागत माघे (मकर) संक्रान्ति पर्व मंगलबार हर्षोल्लासपूर्वक मनाइएको छ ।

पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे पर्व मनाइएको हो ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यता समेत छ ।

माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महीनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् रामचन्द्र गौतमले जानकारी दिनुभयो । “सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ, यो समयमा भएको जन्म र मरण पनि उत्तम हुन्छ,” उहाँले भन्नुभयो ।

उत्तरायणका पनि माघ र वैशाख महीना उत्तम मानिएको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । कर्म गर्नका लागि माघको शुक्ल पक्ष अझ बढी महत्वपूर्ण समय मानिएको समितिले जनाएको छ । तराईवासीले पनि माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महीनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । माघ शुक्ल पक्षमा तिललाई छ प्रकारले प्रयोग गर्ने षट्तिला एकादशी पर्व समेत पर्दछ ।

संक्रान्तिका अवसरमा तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्म्सिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यसलाई लोकोक्तिअनुसार ‘पुसमा पाके माघमा जाके’ भनिन्छ । सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।

यसैबिच, माघे सङ्क्रान्ति पर्वको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी पदर्शन गरिएको छ ।

मगर लगायत आम नेपालीले मनाउने माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा बेनीमा ‘‘सम्पूर्ण मगरहरु एक होऔँ,भाष, कला र संस्कृतिको संरक्षण गरौँ’’भन्ने मुल नाराका साथ जातिय पहिचान झल्कने झाँकी निकालिएको हो ।

मगर संगको सभाहलबाट निकालिएको ¥यालीले बेनीबजार परिक्रममा गरि पुनः संघकै हलमा पुगेको र बिशेष कार्यक्रम गरिएको थियो । ¥यालीमा मगर समुदायको मौलिक भेषभुषामा सजिएका सहभागीले पुख्र्यौली नाच समेत पदर्शन गरेका थिए ।