सुरक्षामा खटिएका प्रहरीले नै निर्घाट कुटे जनता

बागलुङको गलकोटमा ड्युटीमा खटिएका प्रहरीद्धारा एक युवा माथि निर्घात कुटपिट, पोखराको फेवासिटी अस्पतालको आइसियु कक्षमा उपचार उपचार हुँदै, कुटपिटमा सम्लग्न दुई प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय तानियो
-- धौलागिरी एफएम / प्रकाशित मिति : बुधबार, माघ २, २०७५

बागलुङ जिल्लाको गलकोटमा ड्युटीमा खटिएका दुई प्रहरीले एक युवालाई निर्घात कुटपिट गरेका छन् ।

हटिया प्रहरी चौकीमा कार्यरत प्रहरी जवान प्रेम बिष्ट र बुद्ध थापाको कुटाईबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० बर्षिय सोमबहादुर बस्नेत गम्भिर घाइते हुनुभएको छ ।

घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचार पछि पोखरा लगिएको छ । उनको पोखराको फेवासिटी अस्पतालको आइसियू कक्षमा राखेर उपचार भइरहेको बस्नेतकी श्रीमति कृष्णकुमारी बस्नेतले जानकारी दिनुभयो । बस्नेतको पिसाव नली फुटेको छ । कुटपिट पछि शरिरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अप्रेशन गरिएको अस्पतालले जनाएको छ । स्थानीय बासिन्दाले प्रहरीले सामान्य बिषयमा निर्घाट कुटपिट गरेर ज्यादति गरेको भन्दै घटनामा सम्लग्न प्रहरीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

मंगलवार राति साढे ९ बजेको समयमा हटिया बजारमा बस्नेत सहित रहेका बिक्की गैरे, कृष्ण खत्री र प्रहरी बिच भनाभन पछि कुटपिटमा परिणत भएको थियो । बस्नेत, खत्री र गैरेले मदिरा सेवन गरेको र प्रहरीले सोधपुछ गर्ने क्रममा झगडा भएको प्रत्यक्षदर्शी बताउँछन् । प्रहरीको कुटपिटबाट घाइते कृष्ण खत्रीको अवस्था भने सामान्य छ । गैरेलाई भने केही नगरेको बताइएको छ । जनताको सुरक्षामा खटिएका प्रहरीबाटै निर्घाट कुटपिटको घटना गम्भिर बिषय भएकाले घटनामा सम्लग्नलाई तत्काल कारवाही गर्नुपर्ने घाइते बस्नेतकी श्रीमति कृष्णकुमारीले बताउनुभयो । ‘जो रक्षक उही भक्षक भने जस्तो भयो, हो उहाँहरुले मदिरा पिएकाले केही गल्ती कमजोरी भएको होला,’ उहाँले भन्नुभयो, ‘त्यसको समाधान र सजाय पिटेर होइन, सम्झाई बुझाई गरेर पठाउने या नियम अनुसार चौकीमा लग्न सकिन्थ्यो ।’

घटना पछि ड्युटीमा रहेको बेला कुटपिटमा सम्लग्न भएको आरोप लागेका प्रहरी जवान प्रेम बिष्ट र बुद्ध थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा तानिएको प्रहरी निरिक्षक केशवसिहं थापाले बताउनुभयो । ‘घटना सँग सम्वन्धित प्रहरी र अन्य दुई युवालाई बोलाएर हामीले प्रारम्भिक जानकारी लिएका छौ, बस्नेत गम्भिर घाइते भएको अवस्थामा यसलाई हामीले सामान्य बिषयको रुपमा लिएका छैनौ,’ इलाका प्रहरी प्रमुख थापाले भन्नुभयो, ‘ड्युटीमा रहेका दुवै प्रहरीलाई तानिसकेका छौ, अब दुवै पक्षलाई एक साथ राखेर कुरा गराईए पछि घटनामा सम्लग्न रहेको पाईए कारवाहीको दायरामा लैजान्छौ ।’ लामो समयदेखी थाइल्याण्डमा बस्दै आएका बस्ने चार अघि मात्र नेपाल आउनुभएको थियो ।