माघे संक्रान्ति पर्व पर्यटन मेलाका रुपमा मनाइँदै

म्याग्दीको बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्ष पर्यटन मेलाका रुपमा मनाउन थालिएको छ ।
-- Dhaulagiri Fm / प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५

म्याग्दीको बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्ष पर्यटन मेलाका रुपमा मनाउन थालिएको छ ।

भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो ।

स्थानीय स्वर्गाश्रम युवा क्लबको अगुवाइमा मुसुङमा शुरु भएको माघे सङ्क्रान्ति सांस्कृतिक एवं पर्यटन मेलाको आइतबार उद्घाटन गरिएको छ । पर्यटकीय सम्भावनायुक्त स्वर्गाश्रम, बेलढुङ्गा, डोलेलगायतका पर्यटकीयस्थलको प्रचारप्रसार र पर्यटन पूर्वाधार तयार गर्न सरोकारवालाको ध्यानाकर्षण गराउन मेलाले सहयोग पुग्ने वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा गाउँको पर्यटकीय सम्भावना र अवसरका बिषयमा अन्र्तक्रिया, विविध खेलकूद र सांस्कृतिक कार्यक्रम हुने मेला आयोजक समितिका संयोजक तारामिलन छन्त्यालले जानकारी दिनुभयो ।

पर्यटन मेलाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभएको थियो ।