पर्वतका युवा सहित दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु

-- धौलागिरी एफएम संवाददाता, चितवन / प्रकाशित मिति : मङ्लबार, पुस २४, २०७५

चितवनको भरतपुर महानगरपालिका–१० रिजालचोकमा सोमवार राति मोटरसाइकल दुर्घटना हुँदा पर्वतका एक युवा सहित दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना ४८ प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्यु भएको हो ।

पैदलयात्री भरतपुर महानगरपालिका– १० का ४२ वर्षीय रमेशविक्रम थापा र मोटरसाइकल चालक पर्वत घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २८ वर्षीय युवराज थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । युवराजको भरतपुर अस्पतालमा तथा रमेशविक्रमको चितवन मेडिकल कलेजमा उपचार गर्दै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ । चितवनमा यसअघि पनि बागलुङ र पर्वतका केही युवा र महिलाको सडक दुर्घटनामा ज्यान गएको थियो ।